काठमाडौं– नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहले पार्टीले सोधेको स्पष्टीकरणको जवाफ पठाएको छ । प्रधानमन्त्री शेरबहादुर देउवालाई गत आइतबार विश्वासको मत दिनुभएका नेपाल समूका २२ सांसदले स्पष्टीकरणको जवाफ पठाएका हुन्।
अध्यक्ष केपी शर्मा ओलीलाई सम्बोधनसहित दिएको जवाफमा सांसदहरूले प्रतिनिधिसभा पुनस्स्थापनापछि पार्टी विभाजन हुँदा संविधानको धारा ७६ को (२) बमोजिम सरकार बन्न नसकेको बताएका छन् । ‘वास्तवमा प्रतिनिधिसभा पुनःस्थापना भएपछि प्रधानमन्त्रीले संसदीय दलको नेताबाट राजीनामा दिई अन्य कुनै सदस्यलाई संसदीय दलको नेतामा चयन गरी संविधानको धारा ७६ को उपधारा ३ को सरकार बनाउनु पर्दथ्यो,’ जवाफमा भनिएको छ, ‘तर, त्यसो नगरी तत्कालीन प्रधानमन्त्री नै धारा ७६ (३) अन्तर्गतको प्रधानमन्त्री नियुक्त हुनुभयो।’
प्रधानमन्त्री देउवालाई विश्वासको मत दिएपछि नेपाल पक्षमा उभिएका २२ सांसदलाई सर्वोच्च अदालतको असार २८ को परमादेश आकर्षित नहुने गरी पार्टी अनुशासन उलंघन गरेको आरोपमा एमालेले स्पष्टीकरण सोधेको थियो ।
देउवालाई विश्वासको मत दिने एमाले सांसदहरूमा माधवकुमार नेपाल, विरोध खतिवडा, जीवनराम श्रेष्ठ, कल्याणी खड्का, मेटमणि चौधरी, भवानी खापुङ, मुकुन्द न्यौपाने, पार्वती विशुंखे, हिरा केसी, कृष्णकुमार श्रेष्ठ किसान, गोपाल बम, प्रेमबहादुर आले, धनबहादुर बुढा, विना बुढाथोकी, सरला यादव, पुष्पाकुमारी कर्ण, लक्ष्मी चौधरी, निरादेवी जैरु, रामकुमारी झाँक्री, कलिला खातुन, सविना हुसेन र कृष्णलाल महर्जन छन् ।
प्रतिक्रिया