काठमाडौं– नेकपा एमालेका नेता महेश बस्नेतले सरकारले एमाले फुटाउने अध्यादेश ल्याए राम्रो नहुने चेतावनी दिनुभएको छ ।
शनिबार युथ फोर्सको भ्याली कमान्ड गठन गर्दै नेता बस्नेतले एमाले सरकारले गरेको राजनीतिक नियुक्ति खारेज गर्ने षड्यन्त्र भएको र एमाले फुटाउन अध्यादेश ल्याउने षड्यन्त्र भइरहेको बताउनुभयो ।
‘पहिले एमाले बलियो बनाउन अध्यादेश ल्याउँदा, अध्यादेश फेल गराइयो, अहिले फेरि एमाले फुटाउन अध्यादेश ल्याउनुभयो भने देशभरि अगो बल्छ,’ नेता बस्नेतले भन्नुभयो ।
उहाँले राष्ट्रपतिविरुद्ध महाभियोग लगाउनेबारे नसोच्न पनि सत्तारुढ गठबन्धनलाई आग्रह गर्नुभयो । हालको सत्तारुढ गठबन्धनसँग नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी उपेन्द्र यादव पक्षको गरी जम्मा १२९ सांसदको समर्थन रहेको पनि बस्नेतले दावी गर्नुभयो ।
अघिल्लो सरकारले गरेको कामलाई निरन्तरता नदिई भत्काउन खोजेमा युथ फोर्सले प्रतिरोध गर्ने उहाँले बताउनुभयो ।







प्रतिक्रिया