अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

तीन स्मृति : पिँडुला फर्काउने होडाको उकालो

तीन स्मृति : पिँडुला फर्काउने होडाको उकालो


कुरा २०४६ सालतिर हो । निम्न माध्यमिक तहका विज्ञान शिक्षकहरूको लागि संचालन गरिने तालीममा भाग लिनको लागि शैक्षिक तालीम केन्द्र ईलाम गएको थिएँ । उक्त तालीम केन्द्रमा ताप्लेजुङ, पाँचथर र ईलामका शिक्षकहरुलाई एक हप्तादेखि एक महिना सम्मको पेशागत तालीम दिईन्थ्यो । ताप्लेजुङबाट म लगायत चाँगेका गोपाल चुडाल, खोक्लिङका उमानाथ प्याकुरेल, हाङदेवाका गणेश दाहाल, मैवाखोलाका तुलशी भट्टराई, भानुका काशीनाथ भट्टराई, लेलेपका योगेश्वर भट्टराई लगायतका निकैजना साथीहरू सहभागी थियौं । ईलाम चोकको टावर होटलमा बसेका थियौं हामी । हाङदेवाका गणेश दाहाल सर अति नै रमाईलो मान्छे । विभिन्न जोक, चुट्किला भनेर हसाँईरहने । ईलाम बसाई बहुत रमाईलो भएको थियो । तालीम सकेर घर फर्क्यौं हामीहरु । त्यो बेलामा फिदिम सम्म मात्र गाडी चल्थ्यो । गाडीबाट फिदिममा ओर्लेर गोपाल सर र म चाहिँ तेह्रथुमको होडा हुँदै फर्कने भयौं ।

गोपाल सर र म होडातिर लाग्ने भयौं । होडा आठराई क्षेत्रको एउटा गाउँ हो । यो एउटा राजनीतिक र शैक्षिक क्रान्तीको थलो हो । त्यता जानका लागि हामी फिदिमबाट माझीटार हुँदै सिटौला पुल तरेर उकालो लाग्यौं । होडामा गोपाल सरको ससुराली घर र मेरो चाहिँ सानिमाको घर थियो । भेटघाट पनि हुने र एकरात बसेर जाउँ भन्ने सल्लाह गरेर हामी त्यतातिर लागेका थियौं । जेठको महिना उखुमै गर्मी थियो त्यसमाथि सालघारीको बाटो । पुल तरेर अलिक वर आईसकेपछि मेरो एउटा पिडौंला अचानक बाउँडिन थाल्यो । बिस्तारै हिड्दै गयौं । अर्काे पिडौंलाको हालत पनि उस्तै हुन लाग्यो । तिर्खाले मुख सुक्न थाल्यो । पानीको धारा कतै छैन । झोलामा भएका कपडा निकालेर पिडौंला कसेर हिड्दै गईयो । अब तिघ्रा फर्कन थाले । तिनलाई पनि बाँधियो । पार लागेन । साँझ पर्दै गएको थियो । मेरो ज्यानले एक खुड्किलो पनि उक्लन छोड्यो । मांशपेशी फर्कदाको पीडा कति हुनेरहेछ भन्ने पहिलो पटक अनुभव गरें । आँसु नै झरे । गोपाल सरले झोला पनि बोकिदिनुभयो । एक पाईला हिड्दै बस्दै, बामे सर्दै बल्लबल्ल जंगल माथिको एउटा चौतारामा पुगियो । त्यहाँ चाहिँ पिउने पानी रहेछ । पेटभरि पानी पिएर आधाघण्टा जति फलैंचामा खुट्टा तन्काएर आराम गरेपछि दुखाई केही कम भयो । अनि हामी बाटो लाग्यौं । एक पाईलो हिड्दैं उभिँदै गर्दै झमक्क साँझमा गन्तव्यमा पुगियो । त्यसदिन सानिमाको घरमा खाना खाईसकेर साङ्लाको विषादी छर्कनु भएको रहेछ । अघिको कहानी सबै सुनाएँ । बाहिर आँगनमा नै खाना बनाईदिनु भयो सानिमाले । सुत्ने बेलामा तोरीको तेल दिनुभयो मालिस गरेर सुत् भनेर । त्यसै गरेर सुतें । विहान निक्कै आराम भएको रहेछ । खाना खाएर हामी बाटो लाग्यौं । शरीरमा पानीको कमी भएको अवस्थामा मांशपेशीहरु त्यसरी बाउँडिने र फर्कने गर्दारहेछन् भन्ने अनुभव त्यहीदेखि भएको हो मलाई । त्यस दिनदेखि पानीबढी नै पिउने गर्छु । गोपाल सर नहुनु भएको भए सायद त्यसैदिन म जंगली जनावरको शिकार भैसक्ने थिएँ कि ?

मान्द्रोको भरमा बितेको रात

कुरो वि.सं. २०५५ सालको हो । श्री सरस्वती माध्यमिक विद्यालय, हाङपाङको स्वर्ण महोत्सव मनाउने निर्णय विद्यालय व्यवस्थापन समितिले गर्‍यो । महोत्सव फागुनमा मनाउने निर्णय त समितिले गर्‍यो तर त्यसको लागि आवश्यक बजेट पर्याप्त थिएन विद्यालयसँग । रकम व्यवस्थापन गर्नको लागि तिहारमा देउसी खेल्ने निर्णय भयो । तिहार पनि आयो अनि विद्यालयको देउसी पनि शुरु भयो । बिहान ७ बजे देखि वेलुका ९ बजे सम्म देउसी कार्यक्रम चल्थ्यो । बिहानको खाना अनि बेलुकाको खाना र सुत्ने व्यवस्था निश्चित घरहरुमा पहिले नै तय गरिएको थियो । देउसी खेल्दै जाने क्रममा सायद तेश्रो दिनको वेलुकाको खाना र सुत्ने व्यवस्था हाङपाङ-४ निवासी क्याप्टेन खड्गेन्द्र सिं आङबुहाङको घरमा गरिएको थियो । सरहरू अनि विद्यार्थी कलाकार साथै समितिका केही सदस्यहरू सम्मिलित हाम्रो टोली करिब ३० जना जतिको थियो क्यारे । बेलुका ८/९ बजेतिर हाम्रो टोली मुकाम पुगेको थियो ।

कहिले माओवादीको टोली अनि कहिले सरकारी टोली आएर सर्वसाधारणलाई अलिक दुःख पनि दिने गर्दथे । कहिले कुन पक्ष आएर के आरोप लाएर दुःख दिने हुन भनेर सँधै डराउनुपर्ने । त्यो बेलामा मैले आफ्नो घरमा अरू नै मानिसलाई राखेको थिएँ । मेरो परिवारका अन्य सदस्यहरू झापामा थिए । आफ्नो जागीरको कारणले म मात्र हाङपाङमा थिएँ र बस्न चाहिँ आफ्नै घरको एउटा कोठा प्रयोग गरेको थिएँ ।

केहीले अगाडि नै गएर खाना पकाउने काम गरेका थिए । खाना खाने काम सकिएपछि सुत्ने तरखर हुन लाग्यो । सबैजना थकाईले लखतरान भएका थिए । न बेलामा खाना न बेलामा सुताइ थकाई त लाग्ने नै भयो नि । अन्य सरहरु र विद्यार्थीहरुलाई सुत्ने ठाउँको व्यवस्था गरियो । गलेका थिए सबैजना भक्लाकभुक्लुक लडिहाले । त्यत्रो संख्यालाई एउटै घरमा सुत्नलाई आवश्यक सामाग्री अलिक नपुग्ने नै भयो । सबै सुतेपछि हर्कशेर आङबुहाङ सर, मेदनी सुवेदी सर र म गरि ३ जना बाँकी रहेछौं । हाम्रो भागमा त ओेड्ने ओेछ्याउनेको त कुरै छोडौं गुन्द्री सम्म पनि पुगेन । सबैजना घरतिर सुतेका थिए । हामी ३ भाइ चाहिँ सानो मतानको माथितिर केही छ कि भन्ने आसले चढ्यौं । अलिक अँध्यारो पनि थियो । छामछाम छुमछुम गर्दा एउटा मान्द्रो फेला पर्याे । त्यही ओछ्याएर लड्यौं हामी ३ भाइ । न ओड्ने न ओछ्याउने । एकछिन त चिसोचिसो भयो तर गलेर लखतरान भएको ज्यान हामी त कतिबेला भुसुक्कै भएछौं ।

बिहान उठेर यसो हेरेको मान्द्रोमा त रगतको सुकेको टाटा पो छन् । बुझ्दै जाँदा त बंगुर काट्दा प्रयोग गर्ने मान्द्रो पो रहेछ । जेसुकै होस् निन्द्रा त मज्जैले आएको थियो त्यो रात । हर्कशेर दाइ अनि मेदनी दाइले बिर्सनु भयो कि सम्झिरहनु भएको छ कुन्नि ?

माओवादी कब्जामा ब्यानर लेख्दा

वि.सं. २०६२ सालतिरको कुरा होला । नेकपा माओेवादीका गतिविधिहरु गाउँगाउँमा संचालन भईरहेका नै थिए । गाउँमा विभिन्न खालका आमसभाहरु हुने गर्थे र ती प्राय विद्यालयहरुमा हुने गर्थे । त्यस्ता कार्यक्रमहरुमा गैर माओवादीहरुलाई पनि सहभागी गराउने गर्दथे । सरकारी पक्षको उपस्थिति गाउँमा शून्यप्राय नै थियो । बेलाबेला प्रहरी तथा सेनाको गस्ती पुग्थ्यो । जनताहरु त्रसित थिए । कहिले माओवादीको टोली अनि कहिले सरकारी टोली आएर सर्वसाधारणलाई अलिक दुःख पनि दिने गर्दथे । कहिले कुन पक्ष आएर के आरोप लाएर दुःख दिने हुन भनेर सँधै डराउनुपर्ने । त्यो बेलामा मैले आफ्नो घरमा अरू नै मानिसलाई राखेको थिएँ । मेरो परिवारका अन्य सदस्यहरू झापामा थिए । आफ्नो जागीरको कारणले म मात्र हाङपाङमा थिएँ र बस्न चाहिँ आफ्नै घरको एउटा कोठा प्रयोग गरेको थिएँ । खाना चाहिँ भक्ति ओली सरकोमा खाने गरेको थिएँ । एकदिन विद्यालय जानको लागि तयार हुँदैथिएँ । एकजना सानोसानो भाइ आँगनमा आइपुगे । मैले देखेजानेकै माओवादी भाइ थिए उनी । घरमा बस्ने कार्की बालाई उनले सोधे “सर कता हुनुहुन्छ ?“ स्कुल जानलाई तयार हुँदैछन् कार्की बाले भने । बोलाईदिनुहोस त भनेर ती भाइले भने । दुईजनाको कुराकानी सुनेर म आफै तल झरें । ती भाइले भने “सर कमरेडहरुले तपाईलाई लिन पठाउनु भएको हो । मसँग जाउँ ।“ मैले सोधें कहाँ ? उनले भने ठाउँ त भन्दिन सर तर मलाई ओरालो झर्दा करिब ४५ मिनेट लाग्यो । मैले सोधें कसले लिन पठाएको ? उनले नाम लिएका व्यक्तिहरु प्राय मैले चिनेकै थिए । कुनै काम नबिगारेको हुनाले खासै डर त लागेन । मैले भने म त स्कुल जान लागेको हो भाइ , परीक्षा आउन लागेको छ । कोर्ष पनि सक्नु पर्नेछ । उनले भने तपाईं आज स्कुल जान पाउनु हुन्न । मलाई लिएरै आउनु भन्ने आदेश छ । तपाईं मसँग हिड्नुहोस् । आदेश नै पो दिए उनले त । मैलै जानै पर्ने भयो । सर्वसाधारणको बुझाईमा म अपहरणमा परें । जानुपर्ने ठाउँको मनमनै अनुमान गरें र उनीसँग हिडें तर यता कार्की बा डराएछन् माओवादीले अपहरण गरे भनेर । बेला पनि डराउनु पर्ने नै थियो नि ।

स्कुलमा पुगेर ‘सरलाई त माओवादीले लिएर जाँदै थिए’ भनेर कुरा पनि गरेछन् । करिब १ घण्टाको उकालो हिँडेपछि गन्तव्यमा पुर्‍याएर ती भाइले मलाइ कमाण्डरको सामु हाजिर गराए ।

म अघिअघि ती भाइ पछिपछि हुँदै हेल्थपोष्टको छेउबाट उकालो लाग्यौं । बाटोमा स्कुल जाँदै गरेका विद्यार्थीहरु पनि निकै भेटिए । उनीहरू पनि डराएछन् । स्कुलमा पुगेर ‘सरलाई त माओवादीले लिएर जाँदै थिए’ भनेर कुरा पनि गरेछन् । करिब १ घण्टाको उकालो हिँडेपछि गन्तव्यमा पुर्‍याएर ती भाइले मलाइ कमाण्डरको सामु हाजिर गराए । गुरुङको घर थियो त्यो । उनीहरूको खाना खाने बेला भएको रहेछ । मलाई पनि खाना खाउँ भने ‘मैले खाएर आएको हो, किन बोलाको हो लु भनौ, मैले त स्कूल पो जानु छ’ मैले भने । ‘आज तपाईं स्कुल जाने होईन सर, भोली हाम्रो कार्यक्रम छ । तपाईले व्यानर लेखिदिनु पर्याे भनेर कपडा, रङ र ब्रस पो दिए ।’ कपडामा लेख्न आँउदैन भनेको धर पाईएन । जस्तो जान्नुहुन्छ त्यस्तै लेखिदिनुहोस् भनेपछि जानीनजानी दिनभरिमा ४/५ वटा व्यानर लेखिदिएँ ।

बेलुका ५ बजे मेरो छुट्टी भयो । मलाई घर पुर्‍याइदिनका लागि एक जना भाइलाई आदेश दिए तर मैले मलाई साथी चाहिँदैन आफैँ जान्छु भनेर हिँडे । हिँड्ने बेलामा घरबेटी गुरुङले हरिया मकैको एक झुत्ता तयार गरिदिए । बोकेर लागे घरतिर । गाउँतिर पनि हल्ला भइसकेको रहेछ । बाटोमा भेट भएकाहरूले निकै सोधखोज पनि पो गरे त । भोलिपल्ट स्कुल गएँ, सबैका शंकालु नजर ममाथि परे । कसैकसैले सोधे पनि हिजो कता गइयो भनेर । दिउँसो माओवादीले स्कुलको प्रांगणमा कार्यक्रम गरे अघिल्लो दिन मैले नै लेखेका व्यानर टाँगेर ।