काठमाडौं– नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देशको ठूलो जनसंख्या एमालेको साथमा रहेको बताउनुभएको छ ।
आज अखिल नेपाल महिला संघको केन्द्रीय कमिटी बैठकलाई भर्चुअल सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
अध्यक्ष ओलीले तीन करोड जनसङ्ख्यामध्ये केही दर्जन मानिसमात्रै आफ्नो बदनामीमा लागेको समेत बताउनुभयो । ‘केपी ओलीलाई मुख छाडेर कसैको जीविका चल्छ भने म खुसी छु । थुप्रै तत्त्वहरू यसरी लागेका छन्, थुप्रो भनेको केही दर्जन हो । तीन करोड जनसङ्ख्यामा केही दर्जन मानिसहरू बदनामीमा लागेका छन् ।’
एमाले परिपक्व राजनीतिक पार्टी भएको बताउनुहुँदै उहाँले आफूहरूको काँधमा देशको मुहार फेर्ने अभिभारा रहेको समेत उल्लेख गर्नुभयो ।
‘नेकपा कुनै गुण्डा दल होइन, एउटा परिपक्व राजनीतिक पार्टी हो, जसको काँधमा देशको मुहार फेर्ने अभिभारा छ,’ अध्यक्ष ओलीले भन्नुभयो ।
नेता माधवकुमार नेपालतर्फ संकेत गर्दै अध्यक्ष ओलीले प्रतिक्रियावादीको पुच्छर भएको र आन्दोलनलाई कमजोर बनाउन लागेकोसमेत बताउनुभयो ।







प्रतिक्रिया