अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बाग्लुङको ओडारमा २२ नाल भरुवा बन्दुक फेला

बाग्लुङको ओडारमा २२ नाल भरुवा बन्दुक फेला


बागलुङ – बागलुङमा लुकाइराखेको अवस्थामा प्रहरीले २२ नाल भरुवा बन्दुक फेला पारेको छ।
प्रहरी चौकी बुङ्गादोभान बागलुङबाट खटिएको प्रहरीको गस्ती टोलीले २२ नाल भरुवा बन्दुक फेला पारेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायब उपरीक्षक इकवाल हवारीले बताउनुभयो।

तमानखोला गाउँपालिका–४ लाममेलास्थित घट्टेखोला नजिकै रहेको ओढारमा एकनाले भरुवा बन्दुक १२ थान र तमानखोला–३ मार्के खोलाको ओढारमा एकनाले १० थान बन्दुक आइतबार फेला परेको उहाँले बताउनुभयो।
प्रहरीले भरुवा बन्दुकसहित स्थानीयलाई विभिन्न समयमा पक्राउ गर्दै आएपछि डराएर ओढारमा लगेर भरुवा बन्दुक लुकाउन थालेको प्रहरीको भनाइ छ।

‘बागलुङको पश्चिम क्षेत्रमा भरुवा बन्दुक लुकाउने र शिकार खेल्ने परिपाटी रहेछ, हामी निस्तेज पार्ने अभियानमा छौँ। प्रहरीले भरुवा बन्दुक पक्राउमा सक्रियता देखाएपछि आफू फस्ने डरले केहीले ओढारमा त केहीले जङ्गलमा लुकाउन थालेका हुन्,’ हवारीले भन्नुभयो।

ओढारमा भरुवा बन्दुक लुकाइछिपाई राख्नेका बारेमा थप अनुसन्धान र खोजतलास भइरहेको प्रहरीको भनाइ छ।