काठमाडौं– नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्री बनाउदा आफूसँग सल्लाह नगरेपछि वरिष्ठ नेता रामचन्द्र पौडेल गुनासो पोख्न प्रचण्डकहाँ पुग्नुभएको छ ।
देउवाले हिजो स्वास्थ्य राज्यमन्त्रीमा आफूखुशी उमेश श्रेष्ठलाई नियुक्त गरेपछि सत्तारुढ गठबन्धन खासगरी कांग्रेसभित्र तीव्र आलोचना भएको छ । देउवाले यसैगरी पार्टीमा सल्लाह नगरी मन्त्री थप्दै जानुहोला कि भन्ने चिन्ता लिएर पौडेल आज विहान प्रचण्ड निवास खुमलटार पुग्नु भएको जनाइएको छ ।
सरकार सञ्चालन कार्यदलका संयोजक एवं कांग्रेस महामन्त्री पूर्ण बहादुर खड्काले पनि आफूलाई थाहै नदिइ राज्यमन्त्री नियुक्त गरेको बिषयमा सावर्जनिक रुपमै असन्तुष्टि व्यक्त गर्नुभएको छ ।
प्रचण्डसँगको भेटमा पौडेलले प्रधनमन्त्रीले एकलौटी रुपमा मन्त्री छनौट गर्दा पार्टीको आन्तरिक सन्तुलन खलबलिने भएकोले यसलाई रोकिदिन माग गर्नु भएको स्रोतले जनाएको छ । करिब एक घण्टा भएको भेटघाटमा सरकारमा आफ्नो समूहबाट मन्त्री हुने नेताहरुको नाम समेत प्रचण्डलाई बुझाएको खुमलटार स्रोतले जानकारी दियो । ‘मन्त्री छनौटमा उहाँले गुनासो पोख्नु भयो । विगतमा प्रधानमन्त्री हुँदा पनि यस्तै गर्नुभएको थियो । अहिले पनि त्यस्तै सुरुवात गर्नुभएको छ । सल्लाह गरेर मात्र निर्णयमा पुग्न सजग गराइदिनुहोला ,’ पौडेल प्रचण्डसँग भन्नुभएको थियो ।
प्रचण्डले आफूले देउवालाई सत्ता गठबन्धन र कांग्रेसको आन्तरिक समिकरण विचार गरेर मात्र निर्णय लिन सुझाउने आश्वासन पौडेललाई दिनुभएको छ ।
प्रतिक्रिया