अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

माधव नेपाल अधिनायकवादी, थारु समुदायलाई हेपे : गंगा चौधरी

माधव नेपाल अधिनायकवादी, थारु समुदायलाई हेपे : गंगा चौधरी


काठमाडौं– नेकपा एमालेकी सांसद गंगा चौधरी सत्गौवाले माधवकुमार नेपालले अधिनायकवादी चरित्र देखाएको आरोप लगाउनुभएको छ । साउन १० गते संसदको अन्तर्राष्ट्रिय समितिको बैठकमा सहभागी एमाले सांसद नारदमुनि रानालाई नेता नेपालले दुर्व्यहार गरेको भन्दै चौधरीले यस्तो आरोप लगाउनुभएको हो ।

‘हामीले बोल्न नपाउने हो र? हामी सबै सांसदको हैसियत बराबरी हो । बराबरी हैसियतको सांसदलाई निस्केर जान भन्ने?’ आज प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद चौधरीले प्रश्न गर्नुभयो, ‘अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा माधव नेपालले अधिनायकवादी चरित्र देखाए । साउन १० गते समितिभित्रको घटनालाई समस्त थारु समुदायको अपमानका रुपमा हामीले लिएका छौँ । थारु समुदायका सांसदमाथिको उक्त अपमानपूर्ण व्यवहारले सदियौँदेखि शासकहरूले हामीमाथि गर्दै आएको शोषणको दृश्य त्यहाँ पनि देखियो ।’

आइतबार बसेको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा सांसद रानाले वरिष्ठ नेता नेपालका कारण पनि प्रतिनिधिसभा विघटन भएको बताउनुभएको थियो । उहाँले आफ्नै दलका प्रधानमन्त्रीलाई विश्वासको मत नदिएर नेपालले रानजीतिक बेइमानी गरेको आरोपसमेत लगाउनुभएको थियो ।

त्यसपछि नेपाल पक्षीय सांसद दीपकप्रकाश भट्ट पनि सांसद रानामाथि आक्रोशित हुनुभएको थियो । त्यही क्रममा नेता नेपालले प्रतिगमनको मतियार भन्दै सांसद रानालाई बैठक छाडेर राजीनामा दिनसमेत चेतावनी दिनुभएको थियो ।