अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पोखराका व्यवसायीद्वारा पहिलो चरणमा पाँच हजार खोप माग

पोखराका व्यवसायीद्वारा पहिलो चरणमा पाँच हजार खोप माग


पोखरा -पोखराका पर्यटन व्यवसायीले पर्यटनसम्बद्ध मजदुर एवं व्यवसायीका लागि तत्काल पाँच हजार मात्रा खोपको माग गरेका छन् । पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराई नेतृत्वको टोलीले मङ्गलबार गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बराल ‘जीवन’लाई भेट गरी थलिएको पर्यटनलाई चलायमान बनाउनका लागि तत्काल खोपको व्यवस्था गर्नुपर्ने माग गरेको हो ।

परिषद्का अध्यक्ष भट्टराईले हाल पहिलो चरणमा होटल तथा रेष्टुराँसहितका मजदुर एवं व्यवसायीलाई लक्षित गरी पाँच हजार कोरोनाविरुद्धको खोप आवश्यक भएको बताउनुभयो । पोखरामा पर्यटन व्यवसायीका लागि भने २० हजार मात्रा आवश्यक भए पनि तत्कालका लागि पाँच हजार मात्रा उपलब्ध गराउन माग गरिएको उहाँले बताउनुभयो ।
अर्थमन्त्री बरालले प्रदेश सरकारले खोप व्यवस्थापन गर्न केन्द्र सरकारसँग पहल गरिरहेको उल्लेख गर्दै व्यवसायीका मागप्रति प्रदेश सरकार गम्भीर भएको बताउनुभयो । कोरोनाबाट थलिएको पर्यटनलाई पुनरुत्थान गर्न सरकारले प्राथमिकता दिने उहाँले बताउनुभयो ।

कार्यक्रममा अग्रज पर्यटन व्यवसायी अग्नि कँडेल, वासु त्रिपाठी, टीकाराम सापकोटालगायतले यस वर्ष करमा सहुलियत उपलब्ध गराउन सरकारसँंग माग गर्नुभयो । पदमार्ग संरक्षण गर्न र पर्यटकीय गन्तव्यहरुको संरक्षणमा ध्यान दिनुपर्नेमा उहाँहरूले जोड दिनुभयो ।रासस