काठमाडौं- मन्त्रिपरिषद् विस्तारका लागि छलफल गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबार बालुवाटारमा बैठक डाक्नुभयो ।
बैठकमा गठबन्धनका सबै शीर्ष नेताहरु सहभागी हुनुभयो । जस्तैः कांग्रेसबाट प्रधानमन्त्री देउवासहित रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला, पूर्णबाहदुर खड्का, माओवादी केन्द्रबाट पुष्पकमल दाहाल, नारायणकाजी श्रेष्ठ, जसपाबाट उपेन्द्र यादव, बाबुराम भट्टराई, जनमोर्चाबाट चित्रबहादुर केसी, दुर्गा पौडेललगायत ।
बैठकमा एमालेको माधव नेपाल पक्षबाट भने आजको बैठकमा पोलिटव्युरो सदस्य डा विजय पौडेल सहभागी हुनुभयो । यसअघिको शीर्ष बैठकमा नेपाल आफैं सहभागी भए पनि नेपालले फेरि विजय पौडेललाई पठाउनुभएको छ ।
गठबन्धनमा किन जाँदैनन् दोस्रो तहका नेता ?
माधव नेपाल पक्षमा भीम रावल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, घनश्याम भूसाल, गोकर्ण विष्ट, योगेश भट्टराई, सुरेन्द्र पाण्डे, रघुजी पन्तलगायत दोस्रो तहका बलिया नेता छन् । तर, नेपालले किन विजय पौडेललाई मात्रै पठाउनुहुन्छ ।
एमालेको विवाद समाधान कार्यदलमा रहेका एक नेता भन्नुहुन्छ, नेपालको रुचि अझै पनि देउवा गठबन्धनतिरै छ । उहाँ कार्यदलका नेताहरुको दबाबका कारणमात्रै रोकिनुभएको हो ।
पौडेल सांसद पनि हुनुहुन्न । समूहगत उम्मेदवारीका कारण एमालेको केन्द्रमा रहे पनि उहाँ एमाले हुँदासम्म प्रत्यक्ष राजनीतिक गतिविधिमा रहनुभएन । नेपालपाटी, जनता टेलिभिजनजस्ता सञ्चार संस्था चलाउनुभएका उहाँको परिचय शैक्षिक क्षेत्रमा बरु बढी छ ।
मोदनाथ प्रश्रितको लिगेसीका कारणमात्रै राजनीतिमा टिक्नुभएका पौडेललाई पठाएर नेपालले आफ्नो उपस्थिति देखाउँदै आउनुभएको छ । पौडेलको हैसियत यतिमात्रै छ, बैठकका सूचना माधव नेपालसम्म पुर्याउने ।
गठबन्धन बैठकमा जान नेपाल समूहका दोस्रो तहका नेताहरुले अस्वीकार गरेपछि पौडेललाई हन्बेर्नु बनाएर गठबन्धन बैठकमा पठाउने गरिएको छ ।
सिंहदरवारमा यसअघि बसेको शीर्ष बैठकमा पौडेल उपस्थित हुँदा देउवाले नाक खुम्च्याएको बालुवाटार स्रोतले बताएको छ । देउवाले पौडेलसँग दोहोरो कुरासम्म गर्नुहुन्न ।
मन्त्री नपठाए पनि भाग लिने
नेता नेपालले अध्यक्ष केपी शर्मा ओलीसँग सहमति भए मन्त्री नपठाए पनि सबै ठाउँमा भाग लिने रणनीति लिनुभएको छ । ओली सरकारमा उचित भागबण्डा नभएको भन्दै सचिवालय बैठकमा हुप्प परेर फर्किने गर्नुभएका नेता नेपालले देउवासँग अनुनय गरेर कति लिनुहुने हो भन्ने यकिन छैन ।
प्रतिक्रिया