अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

देउवालाई माधव नेपालको सुझाव : सक्षम मन्त्री छान्नुहोला

देउवालाई माधव नेपालको सुझाव : सक्षम मन्त्री छान्नुहोला


काठमाडौं– नेकपा एमालेका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले प्रधानमन्त्री शेरबहादुर देउवालाई सक्षम व्यक्तिलाई मन्त्री बनाउन सुझाव दिनुभएको छ ।

विश्व बाघ दिवसको अवसरमा आज आयोजित एक कार्यक्रममा उहाँले आफू प्रधानमन्त्री बन्दा राम्रो सहयोद्धा पाएकाले राम्रो काम गरेको दाबी गर्नुभयो । ‘सम्माननीय प्रधानमन्त्रीज्यू, प्रधानमन्त्री मात्र भएर हुँदो रहेनछ, सहयोगी, सहयोद्धा पनि त्यस्तै काबिल चाहिन्छ, समर्पित चाहिन्छ र सिर्जनात्मक पनि चाहिन्छ,’ नेता नेपालले भन्नुभयो ।

२००९ मे देखि २०११ फेब्रुअरीसम्म आफू प्रधानमन्त्री बन्दा आफूले प्रकृत्ति संरक्षणका सन्दर्भमा केही काम गरेको उहाँले दाबी गर्नुभयो । राप्रपाका नेता दीपक बोहरालाई मन्त्रीको रूपमा पाउँदा आफूले केही सम्झनलायक काम गरेको उहाँले बताउनुभयो ।

‘मैले आफ्नो समयमा केही प्रकृति संरक्षणको सन्दर्भमा केही काम हुन गएकोमा कताकता आनन्दको अनुभूति हुन्छ, गौरववोध हुन्छ, यी सबै कुरा सम्भव हुने थिएन, यदि राम्रो सहयोद्धा मैले नपाएको भए, मन्त्री हाम्रो दीपक बोहरा जस्तो त्यसैमा समर्पित व्यक्ति नपाएको भए, सिंगो टिम अगाडि नभएको भए, यो सम्भव हुने थिएन,’ नेता नेपालले भन्नुभयो ।