काठमाडौं– पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको महत्वपूर्ण छलफल तथा भेटघाट पार्टी केन्द्रीय कार्यालय थापाथलीबाट गर्न थाल्नुभएको छ ।
अध्यक्ष ओलीले पार्टीको छलफल तथा भेटघाट पार्टीको थापाथलीस्थित केन्द्रीय कार्यालयबाट सुरु गरेको केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो ।
बुधबार पनि ओलीले केन्द्रीय कार्यालयमा आएर पार्टी नेता तथा कार्यकर्तासँग भेटघाट गरेका थिए।
प्रधानमन्त्री रहँदा उनले प्रधानमन्त्री निवास बालुवाटारबाटै पार्टीका सम्पूर्ण बैठक गर्दै आउनुभएको थियो । अब पार्टीका सम्पूर्ण बैठक तथा भेटघाट पार्टी केन्द्रीय कार्यालयबाटै हुने कार्यालय सचिव तामाङले जानकारी दिनुभयो ।
अध्यक्ष ओलीको स्वास्थ्यमा कुनै पनि समस्या नरहेको र उहाँ सक्रिय रूपमा कार्यालयमा उपस्थित हुनसक्ने अवस्था रहेको सचिव तामाङले बताउनुभयो ।
कार्यालयको व्यवस्थापनलाई पनि व्यवस्थित गरिएको उहाँले बताउनुभयो । सचिव तामाङले पार्टीको बैठक तथा कार्यक्रम भर्चुअल माध्यमबाट गर्ने व्यवस्था मिलाइएको पनि जानकारी दिनुभयो ।
उहाँका अनुसार पार्टी अध्यक्ष ओलीको अत्यावश्यक बैठक भौतिक उपस्थितिबिना भर्चुअल माध्यमबाट पनि गर्न सकिने गरी पार्टी कार्यालयमा भर्चुअलरुम तयार गरिएको छ ।







प्रतिक्रिया