अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

काठेखोलामा निर्माणाधीन खानेपानी आयोजना अलपत्र

काठेखोलामा निर्माणाधीन खानेपानी आयोजना अलपत्र


गलकोट- बागलुङ नगरपालिका-३ काठेखोलामा निर्माणाधीन खानेपानी आयोजना अलपत्र परेको छ । काठेखोलाबाट लिफ्ट गरेर सञ्चालन गर्ने गरी काम शुरु भएको जिल्लाकै ठूलो लिफ्ट खानेपानी आयोजना अलपत्र परेको हो । आयोजना पूरा नहुँदा बागलुङ नगरपालिकामा खानेपानीको हाहाकार छ ।

दुई वर्षमा सक्ने गरी निर्माण शुरु भएको यो आयोजना तीन वर्ष बित्दासमेत आधा मात्रै काम सकिएको छ । बागलुङ नगरपालिकामा २४ सै घण्टा शुद्ध खानेपानी वितरण गर्ने उद्देश्यले खानेपानी तथा ढल व्यवस्थापन विभाग र स्थानीय साझेदारीमा शुरु गरिएको आयोजना तीन वर्षदेखि अलपत्र छ ।

दुई वर्षमा सम्पन्न गर्ने गरी विसं २०७५ असार ३१ ग्ते रु ३२ करोड २५ लाखको लागतमा कन्काइ जयमाता जेबीले ठेक्का सम्झौता गरी निर्माण थालिएको आयोजनाको काम तीन वर्ष बित्दासमेत सकिएको छैन ।
यही गतिमा आयोजना बढेमा अझै एक वर्षमा समेत काठेखोलाको पानी बागलुङ बजारमा नआउने निश्चित भएको स्थानीयवासीको भनाइ छ ।

अहिले थोरै कामदारले आयोजनाको काम गरिरहेका छन् । ७० प्रतिशत नेपाल सरकार र ३० प्रतिशत स्थानीय श्रमदानबाट शुरु गरिएको आयोजनाको मुख्य काम प्रशोद्धन केन्द्र, पानी तान्ने मुख्य पाइप र विद्युतीकरणको काम अझै बाँकी छ । काठेखोलाको पानी तान्ने पाँच वटा समवेयल, आयोजना स्थलको पूर्वाधार तथा खानेपानी सङ्कलन ट्याङ्की निर्माण भइसकेको बागलुङ नगर खानेपानी तथा सरसफाई उपभोक्ता समितिका प्रवन्धक हिमाल शर्माले जानकारी दिनुभयो । “दुई वर्षमा सकिने आयोजना तीन वर्षमा सकिएन, कोरोनाका कारण छ महिनाको म्याद थप गराउने तयारीमा छौं”, उहाँले भन्नुभयो, “भौगोलिक जटिलताका कारण आयोजना निर्माणमा ढिलाइ भएको छ ।” प्राकृतिक प्रकोप र बाढीपहिराका कारण आयोजनामा ठूलो क्षति हुँदा समस्या भएको बताउँदै उहाँले आगामी ६ महिनामा आयोजनाको काम अन्तिम चरणमा पुग्नेछ भन्नुभयो ।

बागलुङ बजारमा काठेखोला गाउँपालिकाको रशेह, भूदी र रिठेखोलाको पानी वितरण हुँदै आएको छ । नगरपालिकाको जनसङ्ख्या वृद्धि भएपछि खानेपानीको समस्या बढ्दै जाँदा काठेखोलाको पानी लिफ्टमार्फत तानेर प्रशोद्धन गरी वितरण गर्ने उद्देश्य यस आयोजनाको छ । आयोजना स्थलमा सुरक्षित ड्याम तथा पहिरो संरक्षणका लागि थप रु। छ करोड लाग्ने अनुमान खानेपानी आयोजनाको छ । भौगोलिक रुपमा अध्ययन गर्दा केही त्रुटी भएकाले उक्त स्थानमा खानेपानी आयोजना बन्नेमै आशङ्का रहेको स्थानीयवासीको गुनासो छ । आयोजना निर्माण स्थलभन्दा माथि रहेको बागलुङ बजारको बस्ती चर्किने, भासिने तथा पहिरो जाने भइरहेको छ ।

यस लिफ्ट खानेपानी आयोजनाका कारण यतिबेला बागलुङ बजारका एक दर्जन घर पहिराको उच्च जोखिममा परेको बागलुङ नगरपालिकाका–३ का वडाध्यक्ष लक्ष्मी बाँस्कोटाले बताउनुभयो । नगरपालिकाको १, २, ३ नम्बर वडाका बासिन्दालाई खानेपानी पुर्‍याउने उद्देश्यले शुरु गरिएको यस आयोजनाको म्याद दुई पटकसम्म थपिँदा समेत निर्माण सम्पन्न हुन नसक्नु ज्यादै दुःखद भएको स्थानीयवासी नारायण श्रेष्ठको भनाइ छ ।

भौगोलिक अवस्थाका कारण आयोजना स्थलसम्म मेसिन, औजार लैजान समस्या परेको र पटक-पटकको पहिराका कारण आयोजना निर्माणमा ढिलाइ भएको कन्काई जयमाता जेभीका इञ्जिनीयर विक्रम अधिकारीले जानकारी दिनुभयो । “आयोजना समयमै सक्नुपर्ने हाम्रो अधिकतम प्रयास थियो, आयोजना ढिलो गरी सम्पन्न हुँदा कम्पनीलाई घाटा हुन्छ, आयोजना स्थलमा आएको पहिरोका कारण ठूलो नोक्सानी भएको छ हामीले सम्झौताभन्दा माथि गरेको निर्माणको थप रकम माग समेत गर्दै आएका छौं”, उहाँले भन्नुभयो, “आगामी एक वर्षमा आयोजनाको निर्माण सम्पन्न गरिने हाम्रो लक्ष्य छ ।” अहिले ठूला निर्माणको काम सकिएको र पहिरा रोकथामका लागि समेत काम भइरहेकाले आयोजनाले थप गति लिने उहाँको भनाइ छ । उहाँका अनुसार आयोजनाको समग्र प्रगति ६४ प्रतिशत छ ।

बागलुङ बजारमा खानेपानीको माग प्रतिसेकेण्ड ४० लिटर रहेकोमा अहिले प्रतिसेकेण्ड ३० लिटर मात्रै खानेपानी आपूर्ति हुँदै आएको छ । आयोजनाको निर्माढा सम्पन्न भएपछि प्रतिसेकेण्ड ७० लिटर खानेपानी आपूर्ति हुने बताइएको छ ।