अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

माधव समूहलाई अब धेरै कुर्न सकिन्न : ईश्वर पोखरेल

माधव समूहलाई अब धेरै कुर्न सकिन्न : ईश्वर पोखरेल


काठमाडौं– नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले माधवकुमार समूहलाई अब धेरै कुर्न नसकिने बताउनुभएको छ ।

आज साउन १५ का अवसरमा पार्टी कार्यालयमा खीर खुवाउने कार्यक्रमपछि पत्रकारसँग कुराकानी गर्दै उहाँले शुक्रबार बेलुकासम्म पर्खिने र नभए शनिबार बस्ने स्थायी कमिटी बैठक बसेर अघि बढ्ने बताउनुभएको हो ।

‘सम्भवत आज बेलुकासम्म केही कुराहरू होला, त्यसपछि अब धेरै प्रतिक्षा गर्नु उचित हुँदैन भन्ने मेरो बुझाइ छ’, महासचिव पोखरेलले भन्नुभयो, ‘भोलि बस्ने स्थायी कमिटीको बैठकबाट वारपार हुन्छ ।’

उहाँले बैठकबाटै अब कसरी अघि बढ्ने भन्ने विषयमा छलफल गर्ने बताउनुभयो । ‘खासगरी महाधिवेशनका कुरा छन्, त्यसभन्दा पहिले विधान महाधिवेशन गर्नुपर्ने कुरा छ । तलका कमिटीहरूलाई व्यवस्थित बनाउने र सदस्यताका कुरालाई व्यवस्थित गर्ने कुराहरु छन् त्यसमा पार्टीले निर्णय गर्छ,’ महासचिव पोखरेलले भन्नुभयो ।