अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेपाली सञ्चारकर्मीलाई आर्थिक र भौतिक सुरक्षा जरुरी : बाँस्कोटा

नेपाली सञ्चारकर्मीलाई आर्थिक र भौतिक सुरक्षा जरुरी : बाँस्कोटा


काभ्रे -नेकपा एमालेका केन्द्रीय सदस्य एवं पूर्व सुचना तथा सञ्चार मन्त्री गोकुलप्रसाद बाँस्कोटाले पत्रकारको आर्थिक र भौतिक सुरक्षा हुनुपर्ने बताउनुभएको छ । उहाँले आज प्रेस चौतारी नेपाल काभ्रेपलाञ्चोकद्वारा बनेपामा आयोजित सदस्यता वितरण एवं अन्तक्र्रिया कार्यक्रममा आर्थिक सुरक्षा नभएसम्म सञ्चारकर्मी स्वतन्त्र नहुनेसमेत दाबी गर्नुभयो ।

“नेपाली सञ्चारकर्मीलाई आर्थिक र भौतिक सुरक्षाको आवश्यकता छ, आर्थिक सुरक्षा नभएसम्म उ स्वतन्त्र पनि बन्न सक्दैन”, बाँस्कोटाले भन्नुभयो । सञ्चारकर्मीको श्रमको सुरक्षा र सम्मान हुनुपर्ने बताउँदै कोरोना सङ्क्रमणकालमा ठूला भनिएका मिडियाले पनि बिना पैसा काम लगाएको र कामको पारिश्रमिक नदिई रोजगारीबाट समेत हटाएको उहाँले आरोप लगाउनुभयो ।

पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्रीसमेत रहनुभएका बाँस्कोटाले भन्नुभयो, “यस्तै मिडियाका कारण सञ्चारकर्मीको आर्थिक सुरक्षा भएको छैन ।”

उहाँले नेपालमा नेता र मन्त्रीको पछि लागेर र उनीहरुका कथा बनाएर पत्रकारिता सम्मानित हुन नसक्ने उल्लेख गर्नुभयो ।

न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष राजेन्द्र अर्यालले पत्रकारिता आचारसंहिता मिचेर कुनै पनि सञ्चारकर्मीले काम गर्न नहुने बताउँदै श्रमजीवी पत्रकारलाई तोकिएको न्यूनतम पारिश्रमिक कार्यान्वयन गराउन दत्तचित्त रहेको बताउनुभयो । सो अवसरमा वाग्मती प्रदेशसभा सदस्य चन्द्र लामा, मण्डनदेउपुर नगरपालिका उपप्रमुख निर्मला शाही, प्रेस चौतारी नेपाल काभ्रेपलाञ्चोकका संस्थापक अध्यक्ष सुरेशप्रसाद हुमागाईलगायतले पत्रकारिता क्षेत्रले मर्यादा भुल्न नहुने बताउनुभएको थियो ।