काठमाडौं– नेकपा एमाले विवाद समाधानका लागि गठन गरिएको एकता कार्यदलका सदस्यहरूको छलफल सकिएको छ । आजको छलफल पनि कुनै ठोस निचोडमा नपुगि सकिएको हो ।
अध्यक्ष केपी शर्मा ओलीले आजै अपरान्ह स्थायी कमिटी बैठक बोलाएको सन्दर्भमा कार्यदलका सदस्यहरूले सिंहदरबारस्थित एमाले संसदीय दलका उपनेताको कार्यकक्षमा छलफल गर्नुभएकाे थियो ।
छलफल झण्डै साढे दुई घण्टा चलेको थियो । एमाले उपनेता सुवास नेम्वाङले आफूहरू निरन्तर छलफलमा लागिरहेको बताउनुभयो । ‘हाम्रो बीचमा निरन्तर सम्पर्क छ, छलफल छ,’ उहाँले भन्नुभयो, ‘हामी पार्टी एकताका पक्षमा निरन्तर लागि रहेकै छौँ ।’
माधव नेपाल पक्षका नेता गोकर्ण विष्टले पनि आफूहरू कुनै पनि हिसाबले पार्टी एकतालाई जोगाउनुपर्छ भन्ने लक्ष्य राखेर छलफलमा जुटेको बताउनुभयो । ‘पार्टीलाई कसरी एकतावद्ध बनाएर लैजान सकिन्छ भन्ने विषयमा हामीले छलफल गर्यौं,’ विष्टले भन्नुभयो, ‘हामीले कुनै पनि हिसाबले पार्टी एकतालाई जोगाउनुपर्छ, यसबीचमा देखापरेका कतिपय समस्या र अविश्वास पनि हामीले थप प्रयत्नमार्फत समाधान गर्नुपर्छ भन्ने हिसाबले छलफल गर्यौँ ।’





प्रतिक्रिया