गण्डकी- गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बराल (जीवन)ले जनस्वास्थ्यका मापदण्डलाई कडाइका साथ पालना गर्दै व्यवसाय सञ्चालन गर्नुपर्ने बताउनुभएको छ ।
फेवा पर्यटन विकास समिति पोखरा-१८ द्वारा आज यहाँ आयोजित बधाई तथा शुभकामना कार्यक्रममा उहाँले विगत दुई वर्षदेखि कोरोनाको प्रभाव नेपालसहित विश्वव्यापी रहेको उल्लेख गर्दै व्यवसाय सञ्चालन गर्ने विषयमा अब ढिला गर्न नहुने बताउनुभयो ।
कोरोनाको प्रभाव अझै कति रहन्छ भन्ने अन्योल रहेको बताउँदै उहाँले प्रभाव लामो समय रहँदा हाम्रो अर्थतन्त्र नराम्रोसँग प्रभावित हुने भएकाले मापदण्ड पालना गर्दै व्यवसाय सञ्चालन गर्न दिनुपर्छ भन्ने पक्षमा आफू रहेको स्पष्ट पार्नुभयो ।
मानिस अब कोरोनाका अतिरिक्त भोक तथा ऋणले थप प्रभावित हुनसक्ने बताउँदै उहाँले कोरोनाबाट प्रभावित पर्यटन क्षेत्रलाई पुनःउत्थानका लागि कोरोनाविरुद्धको खोपको व्यवस्थापन सङ्घीय सरकारले छिटो गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
पोखरा-१८ का वडाध्यक्ष रणबहादुर थापाले पोखरामा आउने अधिकांश पर्यटक यस क्षेत्रको भ्रमणमा आउने भए पनि राज्य पक्षबाट पर्याप्त मात्रामा लगानी हुन नसकेको गुनासो गर्नुभयो ।
फेवा नहर व्यवस्थापनलगायतका माग
यसैबीच अर्थमन्त्री बरालसँग पोखराको फेवा नहरलाई व्यवस्थापन गर्न माग गरिएको छ । पोखरा-१७ को जनजागरण टोल विकास संस्थाका तर्फबाट फेवा नहरका कारण हरेक वर्ष मानिससमेत बगाउने तथा अकालमा मृत्युवरण गर्नुपर्ने अवस्था भएको भन्दै नहरको व्यवस्थापन गर्न माग गरिएको हो ।
पोखरा महानगरपालिका-१७ का वडाध्यक्ष तीर्थराज अधिकारीले पोखरा पार्दीस्थित राम मन्दिरबाट पावरहाउस खेलमैदान जाने एक हजार २०० मिटर सडक स्तरोन्नति गर्न माग गर्नुभयो । पावरहाउसमा करिब ५०० रोपनी जग्गामध्ये हाल साहसिक खेल गतिविधि सञ्चालन गर्न सकिने गरी १५२ रोपनी जग्गा प्रयोग गर्न मिल्ने अवस्थामा रहेको उहाँले जानकारी दिनुभयो ।







प्रतिक्रिया