अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राम नेपाल भूमिमै जन्मिएका हुन् : अध्यक्ष ओली

राम नेपाल भूमिमै जन्मिएका हुन् : अध्यक्ष ओली


काठमाडौं–  नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले राम नेपाल भूमिमै जन्मिएको दोहोर्‍याउनुभएको छ ।

आज नेकपा (एमाले) काठमाडौं जिल्ला कमिटी बैठकमा उहाँले आगामी वर्षदेखि चितवनको माडीस्थित अयोध्यापुरीमा विश्वभरिका हिन्दू राम जन्मभूमि हेर्न लाइन लागेर आउने विश्वास व्यक्त गर्नुभयो । अध्यक्ष ओलीले उक्त क्षेत्र राम जन्मुभूमि होइन भनेर कुनै शास्त्रले काट्नै नसक्ने दाबी पनि गर्नुभयो ।

उहाँले अहिलेको यो डेढ वर्षका लागि खाएको धक्का आगामी निर्वाचनमार्फत पाँच वर्षका लागि सरकार बनाउने गरी आउने दाबी गर्नुभयो । उहाँले दुईपटक प्रधानमन्त्री हुँदा असफल नभएको बरु ऐतिहासिक प्रधानमन्त्री बनेको जिकिर गर्नुभयो ।

पार्टीका नेता तथा कार्यकतालाई स्वार्थभन्दा माथि उठेर विचारमा केन्द्रित हुन पनि सुझाव दिनुभयो । उहाँले खराब तत्व बाहिरिएकाले पार्टी अझ बलियो भएको पनि बताउनुभयो ।

अध्यक्ष ओलीले दल पूर्वस्थितिमा गए पनि आफ्नो पार्टी एकीकृत नै रहेको र त्यही भावनाका साथ पार्टी अघि बढेकाले कुनै अलमलमा बस्नुपर्ने अवस्था नरहेको बताउनुभयो ।

साथै, उहाँले वरिष्ठ नेता माधवकुमार नेपाललाई पार्टीमा कुनै ठाउँ नभएको बताउनुभयो । बाटो बिराएका साथीले आफ्नै पार्टीको सरकार ढालेर दक्षिणपन्थीको सरकार बनाएको सन्दर्भ जोड्दै अध्यष ओलीले त्यस्ता मुख्य व्यक्तिलाई पार्टीमा ठाउँ नहुने दोहोर्‍याउनुभयो ।

उहाँले अरू नेताहरू जो गल्ती महसुस गरेर आउनेछन् भने स्वागत गरिने तर नआउनेहरू छुट्दै जाने बताउनुभयो । अन्यसँग अहिले पनि कुरा भइरहेको उहाँको भनाइ थियो । अहिलेको परिस्थितिमा उच्च मनोबलका साथ आन्दोलन सशक्त बनाउनुपर्नेमा आवश्यकता औँल्याउँदै अध्यक्ष ओलीले खुट्टा तान्ने मान्छे हटेकाले अबको निर्वाचनमा बहुमत ल्याएर देखाउने ठोकुवा गर्नुभयो ।

उहाँले पार्टी नेता कार्यकर्तालाई स्वार्थमा नलागी उपयुक्त ढङ्गले पदको बाँडफाँट गरेर एकताबद्ध हुन पनि निर्देशन दिनुभयो ।