काठमाडौं- नेकपा माओवादी केन्द्रको साउन २० गते बोलाइएको केन्द्रीय समितिको बैठक १० दिनका लागि स्थगित भएको छ ।
माओवादीको स्थायी कमिटीको आइतबारको बैठकले तयारी पूरा नभएको भन्दै केन्द्रीय कमिटी बैठक सार्ने निर्णय गरेको हो ।
बैठक पछि सञ्चारकर्मीसँग कुरा गर्दै माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले पछिल्ला राजनीतिक घटनाक्रम र तयारीका लागि आवश्यक समय लिनुपर्ने देखिएकाले केन्द्रीय कमिटीको बैठक सार्ने निर्णय भएको जानकारी दिनुभयो । केन्द्रीय कमिटि बैठक साउन ३० गते हुने श्रेष्ठले जानकारी दिनुभयो ।
बैठकले तत्काल सबै प्रदेश कमिटीहरूलाई वडा कमिटी गठन गर्न र त्यसको अद्यावधिक विवरण केन्द्रीय कमिटीको बैठकमा आउँदा लिएर आउन निर्देशन दिने निर्णय गरेको छ ।
सरकार विस्तारमा गठबन्धनका दलहरूबीच नै सहमति हुन नसकेकाले केही समय ढिलाइ भएको श्रेष्ठले जानकारी दिनुभयो ।
सरकारमा सहभागी हुनेनहुने भन्नेबारे गठबन्धनमा सहभागी दल र नेताहरुबीच एकमत नहुँदा सरकार विस्तारमा समस्या भइरहेको श्रेष्ठले जानकारी दिनुभयो ।







प्रतिक्रिया