काठमाडौं- नेकपा माओवादी केन्द्रले सरकारमा जाने मन्त्रीको नाम आज पनि टुंगो लगाउन सकेन ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बसेको माओवादी स्थायी कमिटी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिमण्डललाई पूर्णता दिन भइरहेका छलफबारे पनि जानकारी गराउनु भएको थियो ।
भोलि दिउँसो बस्ने स्थायी कमिटी बैठकले मन्त्रीको टुंगो लगाउने माओवादी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । मन्त्री छान्ने विषयमा प्रचण्डले आज पार्टीका शीर्ष नेताहरुसँग छलफल गर्नुहुने पनि नारायणकाजीले बैठकपछि पत्रकारलाई जानकारी दिनुभयो ।
गठबन्धनका दलहरू सहभागी हुने कि नहुने भन्ने निर्णयमा पुग्न नसकेकाले ढिलाइ भएको नारायणकाजीले बताउनुभयो । जनता समाजवादीले आधिकारिकता पाइसकेको भन्दै उहाँले अब माधव गुटले निर्णय गर्नासाथ मन्त्रिमण्डले पूर्णता पाउने बताउनुभयो ।
आजको बैठकले केन्द्रीय कमिटी बैठक सार्ने निर्णय पनि गरेको श्रेष्ठले बताउनुभयो । वर्तमान राजनीतिक गतिविधि र तयारी पूरा नभएकाले साउन २० का लगि तय भएको केन्द्रीय कमिटी बैठक साउन ३० का लागि सार्ने निर्णय भएको प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो ।
साउन ३० सम्म सबै वडा कमिटी गठन गर्न र त्यसको अद्यावधिक विवरण केन्द्रीय कमिटी बैठकमा आउँदा ल्याउन सदस्यहरूलाई निर्देशन दिने निर्णय भएको श्रेष्ठले जानकारी दिनुभयो ।







प्रतिक्रिया