काठमाडौं– राष्ट्रिय सभा सदस्य कोमल वलीले दार्चलाका युवक जयसिंह धामी मृत्यु प्रकरणमा भारतसँग कुरा गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
आज बसेको राष्ट्रिय सभा बैठकमा गृहमन्त्री बालकृष्ण खाणलाई प्रश्न गर्ने क्रममा एमाले सांसद वलीले सो विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको हो ।
‘नेपाली युवा जयसिंह धामीले तुइन तर्न एक मिटर मात्रै बाँकी हुँदा एसएसबीले काटेको कुरा आइसकेको छ, प्रत्यक्षदर्शीले पनि यो कुरा भनिसकेका छन्, एसएसबीले तुइन काटेपछि नेपाली युवा बेपत्त भएका कुरा छर्लंग भइसकेको छ, यो जति भर्त्सना गरे पनि कम हुन्छ, मानवताविरोधी र क्रुर अनि लज्जास्पद पनि छ,’ उहाँले भन्नुभयो ।
समिति बनाएर मात्र सरकार उम्कन नमिल्ने भन्दै सांसद वलीले यसबारे सरकारले भारतसँग कुरा गर्न आग्रह गर्नुभयो । ‘नेपाल सरकारले समिति मात्रै बनाएर बस्ने कि हिम्मत बनाएर भारतलाई सोध्ने पनि, कि यो सरकारले भारत सरकारसँग कम्फर्टेबल बनाउन खोजेको हो,’ सांसद वलीले प्रश्न गर्नुभयो ।







प्रतिक्रिया