काठमाडौं– राष्ट्रिय सभाका सदस्य भगवती न्यौपानेले दार्चुला घटनाबारे गृहमन्त्रीको भनाइ अत्यन्तै हलुका भएको बताउनुभएको छ ।
सोमबार बसेको राष्ट्रिय सभा बैठकमा बोल्दै एमाले सांसद न्यौपानेले यस्तो बताउनुभएको हो ।
‘एउटा युवा नदीमा बगेर खबरले देश स्तब्ध भएको छ, सिंगो देश दुखेको छ, जनतालाई दुखेको छ तर गृहमन्त्रीको प्रस्तुति अत्यन्तै गैरजिम्मेर र हल्का भएको हामीलाई महसुस भएको छ, किनकी प्रत्यक्ष दर्शीले भारतीय एसएसबीले तुइनको डोरी काट्दिँदा जयसिंह वेपत्ता भएको भन्दा पनि किन नेपाल सरकारले यसबारे भारतसँग सोध्ने आँट किन गरेन? जवाफ चाहियो,’ उहाँले भन्नुभयो ।
त्यस्तै, सांसद चक्रप्रसाद स्नेहीले ४ दिन बित्दा पनि जयसिंह धामी वेपत्ता प्रकरणबारे भारतसँग सरकारले किन कुरा गरेन भन्दै प्रश्न गर्नुभयो । सांसद् स्नेहीले अस्मिता धामी मृत्यु प्रकरणसम्बन्धी छानविनबारे पनि सरकारको ध्यानाकर्षण गराउनुभयो । सरकार बनेको केही दिनमा ३ लाख डोज खोप कता हरायो भन्ने प्रश्न पनि उहाँले सोध्नुभयो ।
सांसद भैरवसुन्दर श्रेष्ठले परमादेशबाट बनेको सरकार दार्चुला घटनाबारे भारतसँग कुरा गर्न डराइरहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘गृहमन्त्रीले तुइनबाट खसेर जयसिंह धामी हराउनुभयो वा बित्नुभयो भन्नुभयो, तर भारतीय एसएसबीले तुइन काटिदिएर जयसिंह कर्णालीमा वेपत्ता हनुभयो भनेर प्रत्यक्षदर्शीबाट सत्यतथ्य कुरा आउँदाआउँदै पनि परमादेशबाट बनेको सरकार भारतसँग कुरा गर्न किन डराइरहेको छ?’
सांसद शेरबहादुर कुँवरले जयसिंहको हत्या भएको बताउनुभयो । एसएसबीका जवानले तुइन काटिदिएकाले यो हत्या नै भएको सांसद कुँवरले बताउनुभयो ।
प्रतिक्रिया