अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेले बनायो ९ विभाग, को-कोले पाए जिम्मेवारी?

एमालेले बनायो ९ विभाग, को-कोले पाए जिम्मेवारी?


काठमाडौं– नेकपा एमालेले ९ वटा विभाग गठन गरेको छ ।

आज बसेको स्थायी कमिटी बैठकले २५ सदस्यीय ९ वटा विभाग गठन गरेको हो ।

बैठकले अध्यक्ष केपी शर्मा ओलीलाई स्कुल विभाग, विष्णु पौडेललाई संगठन विभाग, सुवासचन्द्र नेम्वाङलाई संसदीय विभाग, विष्णु रिमाललाई आर्थिक विभाग, प्रदीप ज्ञवालीलाई प्रचार विभागको जिम्मेवारी दिएको छ ।

त्यस्तै, भानुभक्त ढकालले पर्यटन विभाग, डा. राजन भट्टराईले विदेश विभाग, अग्नि खरेलले निर्वाचन विभाग र देवेन्द्र दाहालले स्थानीय तह विभागको जिम्मेवारी पाउनुभएको छ ।

एमालेले आगामी भदौ २७ र २८ गते काठमाडौँमा पार्टीको विधान महाधिवेशन आयोजना गर्ने तयारीबारे मस्यौदा तयारी र व्यवस्थापन कमिटीबारे आइताबार निर्णय गरेको थियो । विधान अधिवेशन अगावै प्रस्तावित विधान केन्द्रीय कमिटीबाट पारित गरी छलफलका लागि तल्ला कमिटीमा पठाउने सो पार्टीको व्यवस्था छ । ती विषयमा छलफल गर्न एमालेले यही साउन २४ गते केन्द्रीय कमिटीको बैठक आह्वान गरेको छ ।

एमालेको आन्तरिक समस्या समाधान कार्यदलले गत असार २७ गते तयार गरेको १० बुँदे सहमतिका आधारमा पार्टीलाई एकताबद्ध बनाउन पहल जारी रहे पनि वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष बैठकमा अनुपस्थित हुँदै आएको छ ।

विधान महाधिवेशनमा पेश गरिने राजनीतिक प्रतिवेदनको मस्यौदा तयार गर्न पार्टीका अध्यक्ष केपी शर्मा ओली र सङ्ठनात्मक प्रतिवेदन तयार गर्न महासचिव ईश्वर पोखरेलको संयोजकत्वमा कार्यदल गठन भएको छ । पार्टीका स्थायी कमिटी सदस्य रामबहादुर थापाको संयोजकत्वमा विधान महाधिवेशन व्यवस्थापन कार्यदल गठन गरेको छ । एमालेले असोजको पहिलो साता देशभरका सबै वडास्तरका अधिवेशन र दोस्रो साता सबै पालिकास्तरका कमिटीमा अधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरेको छ ।