अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

ऊर्जामन्त्री भुसाल र राजदूत पार्कबीच शिष्टाचार भेटघाट

ऊर्जामन्त्री भुसाल र राजदूत पार्कबीच शिष्टाचार भेटघाट


काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग नेपालका लागि गणतन्त्र कोरियाका राजदूत पार्क चोङ-सुकले आज शिष्टाचार भेट गर्नुभएको छ । ऊर्जा मन्त्रालयमा भएको भेटमा उहाँहरूबीच नेपाल-कोरियाको आपसी चासो र सहयोगका विषयमा विचार विमर्श भएको थियो । सो अवसरमा मन्त्री भुसालले दुई देशबीच रहिआएको असल सम्बन्ध आगामी दिनमा अझै सुदृढ हुने विश्वास व्यक्त गर्नुभयो ।

भेटमा राजदूत पार्कले माथिल्लो त्रिशूली–१ परियोजनाबारे जानकारी गराउनुभयो । आगामी अक्टोबरमा शिलान्यास गर्नेगरी उक्त परियोजना अगाडि बढाइएको उहाँले बताउनुभयो । राजदूत पार्कले कोरियाली सरकारी स्वामित्व रहेको कम्पनीको लगानी रहेको उक्त परियोजना अगाडि बढाउनका लागि नेपाल सरकारका तर्फबाट गर्नुपर्ने आवश्यक काम अघि बढाइदिनसमेत अनुरोध गर्नुभयो । उहाँले उक्त आयोजना सम्पन्न गर्न सके दुई देशबीच आपसी सम्बन्ध विस्तारमा थप सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

जवाफमा मन्त्री भुसालले जलविद्युत् क्षेत्रका आयोजनाहरू समयमै सम्पन्न हुनुपर्नेमा जोड दिँदै अप्पर त्रिशूली आयोजना निर्माणका लागि नेपाल सरकारका तर्फबाट गर्नुपर्ने काम अगाडि बढाउने बताउनुभयो । कोरियाली लगानी, सहयोग र साझेदारीका योजनालाई समयमै सम्पन्न गर्दै आपसी विश्वास अझ प्रगाढ बनाउँदै लैजानुपर्नेमा उहाँको जोड थियो ।

त्यसैगरी मन्त्री भुसालले कोरियाले शिक्षा, स्वास्थ्य र विकासका क्षेत्रमा सहयोग गरेकाप्रति धन्यवाद व्यक्त गर्दै इपिएस कार्यक्रमअन्तर्गत कोरिया जाने तयारीमा रहेका नेपालीलाई आवश्यक सहजीकरण गर्न आग्रह गर्नुभयो । उहाँले कोभिड-१९ का प्रोटोकल बनाएर नेपाली युवालाई गन्तव्यसम्म पुग्ने वातावरण बनाउनुपर्नेमा जोड दिनुभयो । कृषि क्षेत्रमा कोरियाको राम्रो अनुभव रहेको बताउँदै मन्त्री भुसालले त्यस्ता क्षेत्रको सम्भाव्यता अध्ययन गरेर अगाडि बढ्न सकिने बताउनुभयो ।

राजदूत पार्कले कोरियन भाषा परीक्षा पास गरेका नेपालीलाई कसरी गन्तव्यसम्म पुर्‍याउने विषयमा परराष्ट्र मन्त्रालय र श्रम मन्त्रालयसँग समन्वय गरेर काम गरिरहेको जानकारी गराउनुभयो । उहाँले कृषि क्षेत्रमा थप सहकार्यका लागि आफूले कोरियाली विकास नियोगमार्फत सहकार्य गर्ने बताउनुभयो ।