अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

देउवालाई लगाम लगाउँदै दाहाल

देउवालाई लगाम लगाउँदै दाहाल


काठमाडौं– सत्ता गठबन्धनका नेता माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री शेरबहादुर देउवालाई एकपछि अर्को ठाउँमा रोक्न थालेका छन् ।

दाहालको अवरोधका कारण मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन । सर्वोच्च अदालतको परमादेशबाट असार २९ गते प्रधानमन्त्री हुनुभएका देउवाले ५ जना मन्त्रीबाट सरकार चलाइरहनुभएको छ ।

प्रधानमन्त्री देउवाले सोमबार मन्त्रिपरिषद् विस्तारको गृहकार्य गरे पनि दाहालले रोक्नुभएको छ । कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काले दाहालले सरकारका साझा न्यूनतम कार्यक्रम पहिले ल्याउन भनेका कारण मन्त्रिपरिषद् विस्तार धकेलिएको हो ।

प्रधानमन्त्रीले मन्त्रिपरिषद् विस्तार गर्ने गृहकार्य अन्तिम चरणमा पुर्‍याए पनि केही दिन लाग्न सक्ने खड्काले बताउनुभयो । प्रधानमन्त्रीको चाहना पहिले मन्त्रिपरिषद्लाई पूर्णता दिने भन्ने छ ।

– मन्त्रिपरिषद् विस्तारमा अवरोध
– सरकारका न्यूनतम साझा कार्यक्रममा दबाब
– ओली सरकारका नियुक्ति खारेजमा दबाब
– आफू निकटलाई नियुक्ति गर्न सुरु

देउवालाई मन्त्रालय बाँडफाँटमा अल्झाउनुभएका दाहालले आफ्नो तर्फबाट थप मन्त्रीको नाम दिनुभएको छैन । कांग्रेसका कतिपय नेताहरुले अघिल्ला प्रधानमन्त्री केपी शर्मा ओलीले दाहालको असहयोगले भोग्नुपरेको नियति दोहोरिन सक्ने अनुमान गर्न थालेका छन् ।

अध्यक्ष दाहालले साझा न्यूनतम कार्यक्रममा माओवादीका एजेन्डा घुसाउन थालेको भन्दै प्रधानमन्त्री रुष्ट हुनुभएको छ । अर्कोतर्फ सरकार सञ्चालन सम्बन्धी उच्चस्तरीय संयन्त्र निर्माण गरेर आफू छायाँ प्रधानमन्त्री हुन चाहेको देउवाको बुझाइ छ ।

दाहालले देउवाको चाहनाविपरीत अघिल्लो सरकारले गरेका नियुक्ति खारेजीमा दबाब दिइरहनुभएको छ । देउवा भने स्वेच्छाले राजीनामा दिनेबाहेक कसैलाई पनि चलाउन मुडमा हुनुहुन्न । तर, अघिल्लो सरकारले गरेका सबै नियुक्ति खारेज गरेर आफू निकटलाई एकछत्र नियुक्ति दिलाउन दाहाल कस्सिनुभएको छ ।

सरकार फेरिएलगत्तै अर्थ मन्त्रालयमा आफू निकट नेताका नातेदारलाई सचिव बनाएर पठाउनुभएको छ भने राष्ट्रिय योजना आयोगलगायतमा बराबर नियुक्ति गरिसक्नुभएको छ ।