अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सत्तारुढ गठबन्धन कार्यदलको दोस्रो बैठकले साझा कार्यक्रम टुंगो लगाउने

सत्तारुढ गठबन्धन कार्यदलको दोस्रो बैठकले साझा कार्यक्रम टुंगो लगाउने


काठमाडौं– सत्तारुढ गठबन्धन कार्यदलको आज बस्ने दोस्रो बैठकले न्यूनतम साझा कार्यक्रम र सरकार सञ्चालन कार्यविधि तय गर्ने भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान बसेको कार्यदलको बैठकमा यस विषयमा गम्भीर छलफल भई आजै टुङ्गो लगाएर शीर्षनेतालाई बुझाउने तयारी भएको बताइएको छ ।

कार्यदलको अर्को बैठक आजै अपराह्न ४ः३० बजे बस्ने कार्यदलका सदस्यसचिव केशवराज जोशीले जानकारी दिनुभयो । उहाँका अनुसार आज बिहान ८ बजे शुरु भएको बैठक झण्डै १२ः३० बजेसम्म चलेको थियो ।

बैठकमा नेपाली कांग्रेसका महामन्त्रीसमेत रहनुभएका कार्यदलका संयोजक पूर्णबहादुर खड्कासहित कांग्रेसका डा. मिनेन्द्र रिजाल र रमेश लेखक, नेकपा (माओवादी केन्द्र)का देव गुरुङ र वर्षमान पुन तथा जनता समाजवादी पार्टीका राजेन्द्र श्रेष्ठ र महेन्द्र राय यादव सहभागी हुनुहुन्थ्यो ।

कार्यदलले गठबन्धन सरकारको प्राथमिकता, सरकारको नीति तथा कार्यक्रम, सङ्घीयताको कार्यान्वयनलगायत विषय समेटेर साझा कार्यक्रम तयार गर्नेछ ।

कार्यदलले आज न्यूनतम साझा कार्यक्रमको टुङ्गो लगाएपछि एक/दुई दिनभित्रै सरकारले पूर्णता पाउने बताइएको छ ।