अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

दार्चुला घटनामा जस्तोसुकै कदम चाल्न पनि सरकार तयार छ : गृहमन्त्री खाँण

दार्चुला घटनामा जस्तोसुकै कदम चाल्न पनि सरकार तयार छ : गृहमन्त्री खाँण


काठमाडौं– गृहमन्त्री बालकृष्ण खाँणले महाकाली नदी पार गर्ने क्रममा तुईनबाट दार्चुलाका जयसिंह धामी बेपत्ता भएको घटनाको सत्यतथ्य सार्वजनिक गर्न सरकारले तत्काल छानविन समिति गठन गरेको बताउनुभएको छ ।

गृहमन्त्री खाँणले सो घटनाका सम्बन्धमा छानविन समितिले दिएको प्रतिवदेनको आधारमा सरकार जस्तोसुकै कदम चाल्न पनि तयार रहेको बताउनुभयो ।

मंगलबार प्रतिनिधिसभाको बैठकमा सांसदहरूले सोधेका प्रश्नको जवाफ दिने क्रममा उहाँले भन्नुभयो, “छानविन समितिले घटनास्थलमै गएर छानविन गर्नेछ । प्रत्यक्षदर्शीहरूको बयानलाई मूल आधार बनाएर छानविन गर्नेछ । स्थानीय नागरिकसँग पनि बुझेर छानविन समितिले सत्यतथ्यसहितको प्रतिवेदन ल्याउने छ । र, प्रतिवेदनले दिएको निष्कर्षलाई सरकारले दृढताका साथ अघि बढाउनेछ । र, जस्तोसुकै कदम चाल्न पनि सरकार तयार हुनेछ ।”

सरकारले सो घटना घटेलगत्तै मन्त्रीस्तरीय निर्णयबाट गृह मन्त्रालयका सहसचिव जनार्दन गौतमको नेतृत्वमा ५ सदस्यीय छानविन समिति गठन गरेको थियो । गृहमन्त्री खाँणले सो छानविन समितिले सत्यतथ्यसहितको प्रतिवेदन बाहिर नल्याउँदासम्म सरकारले थप केही पनि बोल्न नमिल्ने स्पष्ट पार्नु भयो ।

गृहमन्त्री खाँणले सो घटनाका सम्बन्धमा सत्यतथ्य बाहिर ल्याउन सरकारले छानविन समितिलाई स्थानीय सरकार, प्रदेश सरकार र त्यहाँका जनप्रतिनिधिहरूसँग पनि छलफल गर्न निर्देशन दिएको जानकारी पनि सांसदहरूलाई गराउनुभयो । सो घटनामा भारतीय सीमा सुरक्षा बलको संलग्नता रहेकोबारे प्रमुख प्रतिपक्ष दल एमाले सांसद खगराज अधिकारीले गृहमन्त्री खाँणलाई प्रश्न गर्नुभएको थियो ।

उहाँले अपराधिक ढंगले धामी नदीमा बपत्ता भएको घटनालाई सरकारले ढाकछाप गर्न खोजेको आरोप लगाउँदै आपत्ति जनाउनुभयो । एमालेकै अर्का सांसद योगेशकुमार भट्टराईले गृहमन्त्री खाँणले नदीमा बेपत्ता भएका धामीको मृत्यु नै भएको भन्ने ढंगले संसदमा हल्का टिप्पणी गर्नुभएको भन्दै आक्रोश व्यक्त गर्नु भयो ।

काँग्रेस सांसद गगनकुमार थापाले सो घटनाको सत्यतथ्य बाहिर ल्याउने गरी संसदलाई विश्वास दिलाउन गृहमन्त्री खाँणको ध्यानाकर्षण गराउनुभयो । उहाँले घटनामा संलग्न जोकोहीलाई पनि कारवाहीको दायरामा ल्याउन सरकारले हिम्मतका साथ काम गर्नुपर्ने पनि बताउनुभयो ।

जवाफमा गृहमन्त्री खाँणले छानविन समितिको प्रतिवेदन नआई सरकारले थप बोल्न नमिल्ने बताउनुभयो । उहाँले छानविन समिति घटनास्थल पुग्ने र त्यसको सत्यतथ्य बाहिर आउने विश्वाससमेत व्यक्त गर्नु भयो । सरकारले सो घटनाको छानविन गर्न गठित सहसचिव गौतम नेतृत्वको टोलीलाई १० दिनको समय दिएको छ ।