अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

चापाकोट नगरपालिका दश दिन बन्द हुने

चापाकोट नगरपालिका दश दिन बन्द हुने


वालिङ- कोरोना सङ्क्रमणको जोखिम उच्च भएको भन्दै स्याङ्जाको चापाकोट नगरपालिका दश दिनका लागि बन्द गरिएको छ । नगर कार्यपालिका तथा स्थानीय विपद् व्यवस्थापन समितिको आज बसेको आकस्मिक बैठकले यही साउन २९ गते राति १२ः०० बजेसम्मका लागि अत्यावश्यकबाहेकका सम्पूर्ण सेवा बन्द गर्ने निर्णय गरेको नगरप्रमुख शिवकुमार गिरीले जानकारी दिनुभयो ।

नगरपालिका क्षेत्र हाल उच्च स्वास्थ्य सङ्कटमा रहेको हुँदा चापाकोट नगरपालिका कार्यालयबाट प्रदान गरिने अत्यावश्यक बाहेकका सम्पूर्ण सेवा बन्द गरिएको नगरप्रमुख गिरीले बताउनुभयो । नगरपालिकासहित नगरअन्तर्गतका वडा कार्यालय, सम्पूर्ण बैंक तथा वित्तीय संस्था, सरकारी, गैरसरकारी सङ्घ संस्था एवं शैक्षिक संस्थाबाट प्रदान हुँदै आएका सम्पूर्ण सेवा पूर्णरुपमा बन्द गरिएको उहाँले जानकारी दिनुभयो ।

“विश्वव्यापी महामारी तीव्र गतिमा फैलिरहेको नयाँ भेरियन्टसहितको सङ्क्रणका कारण नगरभित्रका विभिन्न भागमा गम्भीर बिरामीको सङ्ख्या बढ्दै गएकाले आकस्मिकरुपमा बन्द गर्ने निर्णय गरेका हौं”, प्रमुख गिरीले भन्नुभयो, “तीव्र गतिमा फैलिरहेको कोरोनाको रोकथाम तथा नियन्त्रण गरी नागरिकको जीवन रक्षाका लागि यो कदम चालेका हौं ।”

वडा–वडामा सङ्क्रमण दर बढ्दै गइरहेकाले नेपाल सरकारले निर्धारण गरेका स्वास्थ्यसम्बन्धी सम्पूर्ण मापदण्ड पूर्णरुपमा पालना गर्न, अत्यावश्यक कामकाजबाहेक घरबाहिर ननिस्कन र निस्कुनपरेमा स्वास्थ्यसम्बन्धी मापदण्ड पूरा गर्न अनुरोध गरिएको स्वास्थ्य शाखा प्रमुख एवं सूचना अधिकारी बिन्दु कोइरालाले बताउनुभयो ।

नगरपालिकाले सङ्क्रमितको व्यवस्थापनका लागि स्रोत व्यवस्थापन गरी १० श्ययाको आइसोलेशन केयर सेन्टर निर्माण गरेको छ । नगरपालिकामा मङ्गलबारसम्म आठ व्यक्तिको कोभिडका कारण मृत्यु भइसकेको छ भने ५२७ मा सङ्क्रमण पुष्टि भएको छ । तीमध्ये ३७० सङ्क्रमित निको भएका र १५७ सङ्क्रमित अस्पताल तथा होम आइसोलेशनमा छन् ।