चितवन– नेकपा एमालेको माधव नेपाल समूहले सदस्यता नवीकरण रोक्नु पर्ने माग राखिरहेको बेला जिल्ला जिल्लामा एमालेले नवीकरण अभियानै सञ्चालन गरिरहेको छ । पार्टी केन्द्रको विवादलाई बेवास्ता गर्दै जिल्ला तहका नेताहरु पार्टी काममा निरन्तर रुपमा जुटिरहेका छन् ।
एमाले चितवन जिल्ला कमिटी अध्यक्ष पार्वती रावलका अनुसार माओावदीसँगको एकताका नाममा एमालेको श्रृखंलावद्ध संगठनात्मक पद्धति भत्किएकोले त्यसलाई पुनर्निर्माण गर्न पार्टी लागि परेको छ । फागुन १ गते यस जिल्लामा रावलको अध्यक्षतामा ६ सय ९९ सदस्यीय कमिटी गठन भएको हो । चितवनमा एक महानगर सहित सात वटा स्थानीय तह, ९८ वटा वडा र दुईवटा विशेष शाखा कमिटीहरु सक्रिय छन् । बीपी कोइराला क्यान्सर अस्पताल र कृषि विश्व विद्यालय भित्र एमालेले अलग्गै कमिटी निर्माण गरेको छ ।
पार्टीको मुख्य आधारको रुपमा रहेको पार्टी सदस्यता नवीकरणलाई चितवन जिल्ला कमिटीले प्राथमिकताका साथ अघि बढाएको छ । आगामी २७ गते भित्र अधिकांश सदस्यता नवीकरण भइसक्ने रावलले बताउनुभयो । ‘पार्टीको जगको रुपमा रहेको सदस्यता नवीकरण निरन्तर जारी छ । यसक्रममा करिब ८० प्रतिशतले नवीकरण गर्नुभएको छ । केहीले केन्द्रको विवाद मिलेसम्मका लागि पर्खौं भन्नुभएको छ,’ रावलले नेपाली बहस डट कमसँग भन्नुभयो ‘तर नवीकरणमा देखिएको उत्साहले हामी आशावादी छौं ।’
केही प्रतिकूलताका बाबजुत पनि हामी निरन्तर पार्टी काममै छौं । महानगरमा ६ हजार जना सदस्य हुन् । आजसम्म ३५ सय जनाले नवीकरण गरिसक्नु भएको छ : एमाले भरतपुर महानगर कमिटीका अध्यक्ष रामप्रसाद न्यौपाने
चितवन जिल्लाका सातवटा स्थानीय तह मध्ये पाँचजना मेयर एमालेतिर छन् । त्यसमा चारजना संस्थापनमा खुलेका छ्न भने एकजना कतातिर लाग्ने दोधारमा छन् । ५५ वटा वडा एमालेले जितेकोमा मध्ये ३० जना वडा अध्यक्ष संस्थापनमा खुलेका छन् । २५ जनाजतिले केन्द्रको विवाद टुंगिएपछि कित्ता स्पष्ट गरौंला भनेका छन् ।
एमाले भरतपुर महानगर कमिटीका अध्यक्ष रामप्रसाद न्यौपानेका अनुसार अघिल्लो पटकको स्थानीय तहको मेयर मतपत्र चबाएर जितेको सबैले बुझेका कारण यस पटक माओवादीको आकर्षण कमजोर छ । तथापी प्रचण्डको निर्वाचन क्षेत्र र उहाँकै छोरी भरतपुरकी मेयर भएका कारण शक्ति र स्रोतको व्यापक परिचालन छ भरतपुरमा । ‘केही प्रतिकूलताका बाबजुत पनि हामी निरन्तर पार्टी काममै छौं । महानगरमा ६ हजार जना सदस्य हुन् । आजसम्म ३५ सय जनाले नवीकरण गरिसक्नु भएको छ,’ न्यौपानेले नेपाली बहस डट कमसँग भन्नुभयो, ‘नवीकरण गर्ने काममै शिलशिलामा हामी धेरै कार्यकर्ता र मतदाताको घरघरमा पुगिसकेका छौं । त्यो क्रम अझै जारी छ । ’
न्यौपानेका अनुसार पार्टीको कामका सिलसिलामा जनताका घरमा पुग्दा एमाले र केपी शर्मा ओलीको सरकारका बारेमा जनतालाई धेरै भ्रम छरेको पाइएको छ । ती भ्रम र धारणाहरुलाई चिरेर वास्तविक कुरा बताएपछि सदस्यता नवीकरणमा सहज र आकर्षण पनि बढेको छ ।
कोरोनाका कारणले जनमानस परिचालन गरेर पार्टीका कामहरु सञ्चालन गर्न समस्या आएको छ । तथापी जिल्ला सम्बिन्धत कमिटी,जनप्रतिनिधीहरु गरेर करिब ५५ जनाको नेतृत्वको टिमको टिम निरन्तर परिचालित भइरहेको छ ।
सांसद कृष्णभक्त पोखरेलका अनुसार पार्टीको विवादले कार्यकर्तामा केही दोधार देखिए पनि यसले मूर्त रुप पाउन मुस्किल छ । ‘माधव नेपालहरुले नयाँ पार्टी बनाउनु भयो भने पनि कार्यकर्ताहरु एमालेतिरै बस्छन् । विवाद मिलेर एउटै ठाउँमा भइयो भने त हामी झनै बलियो भयौं,’ चितवनमा रहनु भएका पोखरेलले नेपाली बहस डट कमलाई भन्नुभयो ।
पोखरेलको संयोजकत्वमा एमाले चितवनले एउटा कार्यदल बनाएको छ । जसले माधव नेपाल पक्षतिर झुकाव राखेका एमालेका जनप्रतिनिधि र अन्य नृेताहरुसँग निरन्तरर संवाद गरेर संस्थापन पक्षमा समाहित गराउने काम गरिरहेको छ । ‘आज पनि माडी नगरपालिकामा प्रशिक्षण कार्यक्रम छ,’ पोखरेलले भन्नुभयो ‘त्यसपछि माधव नेपाल समूहका केही स्थानीय नेताहरुसँग मेरो संवाद हुन्छ । पार्टी फुटाएर अन्यत्र जाने पक्षमा धेरै कार्यकर्ता छैनन् ।’
चितवनका एक नेताका अनुसार प्रचण्डको परिवारबाट चितवनलाई फुत्काउनका लागि केन्द्रले सोचेभन्दा फरक प्रकारको गठबन्धन निर्माण हुँदैछ । प्रचण्डको छोरी रेणु दाहाललाई मेयरमा सघाएको कांग्रेसका लागि नै अहिले घाँडो भइरहेको छ । त्यसैगरी एमालेको मतले सांसद भएका प्रचण्ड पनि अहिले एमालेकै लागि घाँडो भएका छन् । यति मात्र होइन परिवारवाद हाबी भएको भनेर माओवादी कै कार्यकर्ता पनि बेखुशी छन् ।
अर्कातिर चितवनमा रामबहादुर थापा एमालेतिर लागेपछि त्यसले थुप्रै माओवादीहरु एमालेतिर प्रवेश गरेका छन् । त्यहाँको अर्को निर्णायक शक्ति राप्रपा पनि नयाँ गठबन्धन बनाउने सुरसार मै छ । ‘स्थानीय तहको निर्वाचन घोषणा हुने बित्तिकै यो गठबन्धन प्रकट हुन्छ,’ एक नेताले भने, ‘अहिले यसको भित्रि तयारी भइरहेको छ ।’
प्रतिक्रिया