अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

भारतीय अस्पतालले छोरालाई बन्धक बनाएपछि आर्थिक सहयोगको खोजीमा चौधरी

भारतीय अस्पतालले छोरालाई बन्धक बनाएपछि आर्थिक सहयोगको खोजीमा चौधरी


झापा– उपचार खर्च तिर्न नसक्दा भारत पश्चिम बङ्गालको सिलिगुडीस्थित पारामाउन्ट हस्पिटल (नर्सिङ होम) एक नेपालीलाई बन्ध बनाएको छ ।

सो अस्पतालले उपचारमा लागेको अर्च तिर्न नसक्दा झापाको मेचीनगर नगरपालिका–१० खयरडाँगीको चार महिनाको शिशु सुहान चौधरीलाई बन्धक बनाएको हो ।

आन्द्रा दोब्रिएर विरामी भएका चार महिनाका सुहान हाल हस्पिटलमा छन् भने उहाँलाई रुँघेर बस्नुभएकी आमा शर्मिला चौधरी र वुवा सनम चौधरीलाई हस्पिटल प्रशासनले पैसा खोज्न दबाब दिएर घर फर्काइदिएको छ ।

सो शिशुलाई उपचारका लागि साउन १५ गते सिलिगुडीस्थित पारामाउन्ट हस्पिटलमा लगिएको शिशुका बुबा सनम चौधरीले बताउनुभयो ।

हस्पिटलले उपचारमा एक लाख लागेको बताएपछि चार दिनअघि शुल्क बुझाउन दबाब दिएको थियो ।

खोलामा ढुङ्गागिटी चालेर जसोतसो हातमुख जोड्दै आएको चौधरी परिवारसँग आर्थिक स्रोत नभएपछि स्थानीयले चन्दा उठाएर दिएको ५४ हजार लगेर बुझाएका थिए । अरू रकम बुझाउन नसकेको भन्दै शिशुको आमालाई हस्पिटलमा राखेर परिवारका अरू सदस्यहरूलाई पैसा खोज्न पठाएको थियो ।

ऋण खोजेर थप रु. एक लाख १५ हजार शनिवार लगेर बुझाउँदा हस्पिटल प्रशासनले बिल बढेको भन्दै अरू भारु. ५० हजार नल्याएसम्म बच्चा लैजान नदिने भनेको शिशुकी आमा शर्मिला चौधरीले बताउनुभयो । अस्पतालले शनिबार शिशुलाई मात्र हस्पिटलमा राखेर शिशुकी आमालाई समेत पैसा खोज्न नेपाल फर्काइदिएको छ । हाल शिशु हस्पिटलमा एक्लै छ ।

‘अहिले हस्पिटलमा चार महिनाको छोरो कसरी एक्लै आमाबेगर बसिरहेको होला? सुरुमा एक लाख भारु ल्याउनु भन्यो, दुईपल्ट गरेर बुझाएकै थियौँ,’ शिशुकी आमा शर्मिला रुँदैरुँदै भन्नुहुन्छ, ‘फेरि पचार हजार भारु ल्याउनु भन्छ, कहाँबाट ल्याउनु, मेरो छोरालाई ल्याउन सहयोग गरिदिनुहोस् ।’

कोरोना महामारीले झापामा निषेधाज्ञा जारी भएका कारण चन्दा उठाउने अभियान सञ्चालन गर्न नसकिएको जनाउँदै चौधरी परिवारका छिमेकी युवा वीपी भट्टराईले छरछिमेकीसँग हारगुहार गरेर रु. ५४ हजार चन्दा संकलन गरिएको बताए ।

चार महिनाको सो शिशुलाई पेट फुल्ने समस्या देखा परेपछि सुरुमा मेचीनगरकै शिखर हस्पिटलमा लगिएको थियो । त्यहाँबाट थप उपचारका लागि विर्तामोडको अञ्जलि हस्पिटल पुर्याइएको थियो । त्यहाँ पनि उपचार सम्भव नभएपछि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो ।

प्रतिष्ठानका चिकित्सकहरूले आन्द्रा दोब्रिएर पेट फुलेको जनाउँदै तुरुन्त शल्यक्रिया गर्नुपर्ने बताएका थिए ।

त्यसबेला धरानमा चिकित्सकहरूको आन्दोलन चर्किरहेको हुँदा त्यहाँबाट अन्यत्रै लैजान भनिएको शिशुकी आमा शर्मिलाले बताउनुभयो ।

नेपालका अस्पताल डुलाउँदा डुलाउँदै बच्चाको स्वास्थ्य अवस्था नाजुक भएपछि बाध्य भएर भारतको सिलिगुडी पुर्याउनु परेको उहाँले सुनाउनुभयो ।