अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

विमला वलीको आरोप भ्रमपूर्ण र निन्दनीय : देवेन्द्र दाहाल

विमला वलीको आरोप भ्रमपूर्ण र निन्दनीय : देवेन्द्र दाहाल


काठमाडौं– नेकपा एमालेका राष्ट्रिय सभा सदस्य देवेन्द्र दाहालले लुम्बिनी प्रदेश सरकारलाई सांसद विमला वलीले लगाएको आरोपप्रति आपत्ति जनाउनुभएको छ ।

आजको राष्ट्रिय सभा बैठकमा बोल्दै उहाँले प्रदेश सांसद वलीको आरोप भ्रमपूर्ण र निन्दनीय रहेको बताउनुभयो ।

‘व्यक्तिगतरूपमा दल रोज्न पाउने उहाँको स्वतन्त्रता हो । यद्यपि संसदीय परम्परा/प्रक्रियामा दलीय अनुशासन र मर्यादाको निमित्त पार्टीले खेल्ने भूमिका आफ्नो ठाउँमा छ । पार्टी त्यसमा लाग्छ नै,’ सांसद दाहालले भन्नुभयो, ‘सांसदले अपहरित भएको र बन्धक बनाएको भन्ने जस्ता दूषित शब्दावली प्रयोग गर्नुभएको छ । यो भ्रमपूर्ण र निन्दनीय छ । उहाँमा नेपाली राजनीतिको आयाराम-गयारामको कलुसित इतिहासको पुर्नावृति देखिएको छ, जुन खेदजनक छ ।’

सांसद वलीले केही दिनअघि आफूलाई नेपालगन्ज लैजाने भन्दै जबर्जस्ती बुटवल ल्याएर पाँच दिनसम्म मुख्यमन्त्री शंकर पोखरेलको निवासमा बन्धक बनाइएको र प्रेस विज्ञप्ति तथा रजिस्टरमा लेखिएको विवरणसमेत पढ्न नदिइ हस्ताक्षर गर्न लगाएको आरोप लगानुभएको थियो ।

‘सरकारले विद्येयक किन ल्याउँदैन?’

त्यस्तै, राष्ट्रिय सभा सदस्य दाहालले सरकारले प्रतिनिधि सभालाई किन विजनेस दिइरहेको छैन भनेर प्रश्न गर्नुभयो ।

आजको राष्ट्रियसभा बैठकमा बोल्दै उहाँले भन्नुभयो, ‘सरकारले विद्येयक किन ल्याउँदैन? प्रतिनिधिसभालाई किन विजनेस दिँदैन? सभामुख स्वयमले किन यो विजनेसको लागि पहल गर्नुहुन्न?’

दाहालले राष्ट्रिय सभाबाट पारीत भएका विद्येयकहरू प्रतिनिधिसभामा रोकिएको बताउनुभयो । उहाँले रोकिएका ती विद्येयकहरू राष्ट्रियसभामा फिर्ता हुनुपर्ने समेत बताउनुभयो ।

राष्ट्रियसभा सदस्य दाहालले अहिलेसम्म पनि सरकारले किन पूर्णता नपाएको भन्दै प्रश्नसमेत गर्नुभयो ।

त्यस्तै, उहाँले सरकारले हालै ल्याएको साझा नीति तथा कार्यक्रम र सरकारमा सामेल मन्त्रीहरूले पालना गर्नुपर्ने आचारसंहिताको विषयमा पनि धारणा राख्नुभयो । सांसद दाहालले आचारसंहितामा उल्लेख गरिएका केही बुँदाप्रति गम्भीर आपत्ति जनाउनुभयो ।

‘आचारसंहितमा मन्त्रीहरूले भ्रष्टाचार गर्न नपाउने भन्ने लेखिएको रहेछ, भ्रष्टाचार एकद्वारा प्रणाली अथवा भ्रष्टचार र कमिसनको काम जति सबै प्रधानमन्त्रीमार्फत हुने रैछन् कि केहो?,’ उहाँले प्रश्न गर्नुभयो, ‘मैले १४ बुँदे आचारसंहिताको बुँदा नम्बर १० बाट त्यस्तै कुरा बुझे । किनभने यहाँ कतै पनि प्रधानमन्त्रीलाई आचारसंहितालाई समेटिएको छैन ।’