विराटनगर– प्रदेश नं १ को प्रदेशसभाको आजको बैठकले ‘प्रदेश आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७८’ विचार गरियोस् भत्रे प्रस्ताव सर्वसम्मतिले पारित भएको छ । प्रदेशसभा नियमावली, २०७४ को नियम ९३ बमोजिम आर्थिक मामिला तथा योजनामन्त्री टङ्क आङ्बोले सो प्रस्ताव सदनमा पेस गर्नुभएको थियो ।
विधेयकको सैद्धान्तिक छलफलमा भाग लिँदै प्रदेशसभा सदस्यहरु जयराम यादव, झलकबहादुर मगर र शिवनारायण गनगाईंले विधेयक अत्यन्त महत्वपूर्ण रहेको र यसले आर्थिक गतिविधि, पारदर्शिता र जवाफदेहिता बढाउने विश्वास व्यक्त गर्नुभयो ।
विधेयकले राजस्व र व्ययको उचित व्यवस्था गर्ने, वित्तीय प्रतिफल हासिल गर्न मद्दत गर्ने र बजेटको आर्थिक गतिविधिलाई चुस्त एवं दुरुस्त बनाउ सहयोग गर्ने उनीहरूको भनाइ थियो । सैद्धान्तिक छलफलमा उठेका विषयको जवाफ दिँदै आर्थिक मामिला तथा योजनामन्त्री आङ्बोले विधेयकमा प्राप्त सुझावलाई आत्मसात् गर्ने बताउनुभयो ।
सभाको शून्य समय र विशेष समयमा उठेका प्रश्नहरुको जवाफमा उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री जगदीशप्रसाद कुसियतले चुरे संरक्षण गर्न प्रदेश सरकार सचेत रहेको बताउनुभयो । उहाँले प्रकृति, वातावरण र पर्यावरण संरक्षण गर्न सरकार प्रतिबद्ध छ भन्दै ढुङ्गा, गिट्टी र बालुवा उत्खनन गर्न सरकारले मापदण्डअनुसार नै गर्नेमा जोड दिनुभयो । प्रदेशसभाको अर्को बैठक भोलि दिउँसो १ बजे बस्ने छ ।







प्रतिक्रिया