काठमाडौं -आज नागपञ्चमी पर्व । हिन्दू धर्मावलम्वीले भगवान शिवको रक्षाकवचका रुपमा रहने नागको पूजा गरी नागपञ्चमी मनाउने गरिन्छ । हरेक वर्ष साउन शुक्ल पञ्चमीका दिन घरघरमा नागको चित्र टाँस्ने, नागपोखरी र नाग थानहरुमा गएर पूजा गर्ने प्रचलन छ ।
आठ प्रकारका नागको पूजा गरी दूवो, गाइ दूघ, घिउ र भेटी चढाउनुका साथै कुल नाग थानमा विशेष पूजा गरी खीर, रोटी लगायत प्रसाद अर्पण गरिन्छ । गाईको गोबर भएको स्थानमा नागको भय नहुने भएकाले पनि गोबरको पनि बिशेष महत्व रहेको शास्त्रमा उल्लेख गरिएको छ ।
आजको दिन घरको मूल ढोकामाथि नागको चित्र टाँस्नाले नाग खुसी हुने र वर्षभरि नै चट्याङ, आगलागीजस्ता दुर्घटना हुन नदिने तथा सर्व विच्छीजस्ता घातक जीवबाट रक्षा हुने शास्त्रीय मान्यता रहेको पाइन्छ ।
नागपञ्चमीका दिन पशुपतिको बासुकी, नक्सालको नागपोखरी, टौदह, ललितपुरको धापाखेल नागदह लगायतका स्थानमा मेला लाग्ने गर्छ । तर कोरोना महामारीका कारण आवश्यक नित्य पूजा बाहेक सबै स्थानमा सर्वसाधारणले पूजा गर्न पाउने छैनन् ।
यसैगरी-
मिथिला क्षेत्रमा आज घरघरमा ‘लगपाँच’ पर्व मनाइँदै छ । सर्प (नाग) प्रजातिका जीवको पूजाआराधना गरिने यो पर्व हिन्दू मैथिल परम्परामा चाडपर्व प्रारम्भ भएको सूचनाका रूपमा लिइन्छ । साउन शुक्ल पञ्चमीका दिन बसोबासको मूल घरका चारैतिर भित्तामा गाईको गोबरले नागको चित्र कोरेर दुबो, सिन्दूर र अक्षता चढाई नाग देवताको आराधना गरिन्छ । घरमूली गृहिणीले ‘लगपाँच’ का दिन सखारै पवित्र स्नान गरेर भित्तामा नाग चित्र कोरेर पूजा आराधना गर्दै सर्पले रुचाउने भोजन दूध, लावा ,भुटेको धान, जुनेलो चढाउँछन् ।
साउन मध्य बर्खाभित्र पर्ने र यो बेला सर्पादिको भय हुने हुँदा नाग पूजाको परम्परा चलेको मैथिल पुरोहित बताउँछन् । घरको भित्तामा गाईको गोबरले नागचित्र कोरेर पूजा गरिएपछि वर्षभरि सर्पको भय नहुने जनविश्वास रहेको बर्दिवास नगरपालिका–२ का बासिन्दा कर्मकाण्डका ज्ञाता महेशकुमार झा बताउनुहुन्छ ।
पर्वमा घरका चारै सुरका भित्तामा नागचित्र कोरिनुका साथै मुख्यद्वारमा कागजमा कोरिएको (बनाइएको) चित्र पनि टाँसिन्छ । घरआँगनको मध्यभागमा गाईको गोबरले लिपेर बनाइएको वेदीमा गोबरकै कुण्डमा घरकी मुख्य गृहिणीले दूध, लावा चढाएर नागमहिमा वर्णन गर्दै घरका सबैको रक्षा गर्न नागदेवतासँग पुकारा गर्छिन् ।
मिथिलामा ‘लगपाँच’ पर्व हिन्दू परम्पराका पर्व प्रारम्भ भएको सूचनाका रूपमा लिइन्छ । ‘लगपाँच’ लगत्तै राखी (रक्षाबन्धन), त्यसलगत्तै कुशे अमावश्या, चौरचन, इन्द्रजात्रा, पितृपक्ष, दशैँ, दिवाली (दीपावली, तिहार) र छठ लगालगी आउने हुँदा यो पर्वलाई पूर्वसूचना मान्ने गरिएको पाका मैथिल बताउँछन् ।
हिन्दू परम्परा सबै जीवप्रति समभाव राख्ने र प्रकृति पूजक भएको हुँदा सर्पादिको बढी चहलपहल हुने साउनमा नागपूजाको परम्परा बसेको कर्मकाण्डी पुरोहित बाह्मण झा बताउनुहुन्छ । हिन्दू मैथिल परम्परामा विभिन्न जीव र वनस्पतिको पूजा आराधना तिनको महत्व झल्कने समय (ऋतु, महिना) अनुसार गरिने चलन रहेको झाको भनाइ छ ।
प्रतिक्रिया