काठमाडौं । सरकारले प्रतिनिधिसभा पुनःस्थापना भएपछि सुरु भएको चालू संसद् अधिवेशन अन्त्य गरेपछि प्रमुख प्रतिपक्षी दल एमालेले प्रतिक्रिया जनाएको छ ।
पुनःस्थापित संसद् एक महिना नपुग्दै अन्त्य भएका विषयमा एमालेका मुख्यसचेतक विशाल भट्टराईले अधिवेशनको अन्त्य ‘असमय’मा भएको बताउनुभयो ।
उहाँले अघिल्लो सरकारले ल्याएका १५ महत्वपूर्ण अध्यादेशमाथि छलफल नभएको र नयाँ विधेयक नल्याइएको बताउनुभयो । ‘सदनमा सरकारको बहुमत भए पनि अध्यादेश बजटेलाई प्रतिस्थापन विधेयक ल्याउन सक्नुपथ्र्यो । हिजो हाम्रो पार्टीका अध्यक्ष ओलीले संसद् विघटन गर्दा प्रतिगमी भन्नेहरूले लोकतान्त्रिक ढङ्गले संसद् चलाउन सकेको भए हुन्थ्यो भन्ने हाम्रो बुझाइ हो,’ मुख्यसचेतक भट्टराईले भन्नुभयो ।
सत्तारुढ कांग्रेसका सचेतक पुष्पा भुसालले भने नयाँ सरकारले बजेट र विधेयकबारे तयारी गर्नुपर्ने भएकाले अधिवेशन अन्त्य भएको बताउँदै सरकार सदनलाई बिजनेस नदिने र सदन छल्ने भन्ने हुन नसक्ने जनाउनुभयो । उहाँले भन्नुभयो, ‘सरकारले विधेयक र अध्यादेशहरूको आवश्यक तयारी तथा परिमार्जन गर्छ र त्यसलाई उचित समयमा संसद्मा पेश गर्नेछ ।’
सरकारले सदन अन्त्य गरेपछि दल विभाजनसम्बन्धी ल्याउन लागेको हो भन्ने प्रश्नमा नेत्री भुसालले त्यसबारे आफूलाई जानकारी नभएको बताउनुभयो ।
उहाँले नागरिकतालगायतका विधेयक तीन/चार वर्षदेखि विचाराधीन स्थितिमा रहँदा सदनमा छलफल हुन नसक्नु राम्रो नभएको टिप्पणी गर्नुभयो ।







प्रतिक्रिया