काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हिजो जारी गरेको एकताको अपिल विघटित कार्यदलमा नेपाल समूहमा रहेका केही नेताहरुको आग्रह अनुसार नै आएको बताइएको छ ।
नेपाल समूहका दोस्रो तहका ६ जना केन्द्रीय सदस्यहरुले सोमबार दिउँसो उपमहासचिव विष्णु पौडेल र स्थायी समिती सदस्य सुवासचन्द्र नेम्वाङसँग पनि भेटघाट गरेका थिए । उनीहरुले पार्टी एकता जोगाउन अध्यक्ष ओलीबाट नै पहल हुनुपर्ने धारणा राखेका थिए । ‘त्यस बाहेक विघटित कार्यदलका सदस्यहरुले पनि अध्यक्षको तर्फबाट केही सन्देश आओस भन्ने प्रस्ताव आएकोले हिजो राती साढे १० बजे एकताका लागि अपिल जारी गरिएको हो,’ एक नेताले भन्नुभयो ।
यसबीचमा नेता झलनाथ खनालको स्वास्थ्य स्थिति बुझ्न दिल्ली गएका नेताहरु सुरेन्द्र पाण्डे र भीम आचार्य पनि फर्किसक्नु भएको छ । उहाँहरु पार्टी एकताका लागि सकारात्मक भाव लिएर फर्केको नेताहरुले जनाएका छन् । ‘सहमतिका लागि प्रयास जारी नै छ । उहाँहरुसँग विभिन्न चरणमा र विभिन्न तहका नेताहरुसँग हामी छलफलमा नै छौं,’ स्थायी समिती सदस्य सुवासचन्द्र नेम्वाङले भन्नुभयो, ‘आजको बैठकमा केही नयाँ दृष्य देखिन्छ कि हेरौं ।’







प्रतिक्रिया