मोरङ– कांग्रेस नेता डा. शेखर कोइरालाले सरकारले राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश ल्याउनु गलत भएको बताउनुभएको छ । उहाँले ओली सरकारले अध्यादेश ल्याउँदा विरोध गर्ने अनि अहिले आफैँ सरकारको नेतृत्वमा गएपछि पुन: त्यही अध्यादेश ल्याउने भन्दै प्रधानमन्त्ती शेरबहादुर देउवालाई प्रश्न गर्नुभएको छ ।
विराटनगरस्थित कोइराला निवासमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेता कोइरालाले भन्नुभयो, ‘तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीजीले पनि अध्यादेश ल्याउँदा कांग्रेसले विरोध गर्यो तर अहिले आफैँ सरकारको नेतृत्वमा गएपछि पुनः त्यही गल्ती दोहोर्याउन मिल्छ?’
चलिरहेको संसद हठात् अन्त्य गरेर राजनीति दल सम्बन्धी ऐन अध्यादेश ल्याएर अन्य दललाई विभाजन गर्ने कांग्रेसको संस्कार नभएको कोइरालाले टिप्पणी गर्नुभएको छ ।
सरकारले आफ्नो सुविधा अनुसार सरकार सञ्चालनका लागि अध्यादेश ल्याउनु ठीक भए पनि यसले लोकतन्त्र कमजोर हुने नेता कोइरालाको भनाइ थियो ।
हालै लामो समय पार्टीको केन्द्रीय कार्य समितिको बैठक चल्दा प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाले दल विभाजनसम्बन्धी अध्यादेशको बारेमा कुनै चर्चा नगरेको उहाँले सुनाउनुभयो ।
प्रतिक्रिया