काठमाडौं– नेकपा एमालेले माधवकुमार नेपाल पक्षका १४ जना सांसदलाई कारबाही गर्न सभामुख अग्निप्रसाद सापकोटाको ध्यानाकर्षण गराएको छ ।
आज सिंहदरबारमा सभामुख सापकोटालाई भेटेर नेकपा एमालेका सांसदहरूले नेकपा एमाले (समाजवादी) दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको माधव पक्षका १४ जना सांसदलाई तत्काल कारबाही गर्न माग गरेको हो ।
सभामुख सापकोटालाई भेटेपछि पत्रकारसँगको कुराकानीमा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले सभामुख सापकोटाले तत्काल कारबाही गर्छु भन्ने आश्वासन दिएको बताउनुभयो । नेता भट्टराईले अरू दलका नेतालाई तत्काल कारबाही गरेपनि ७२ घण्टा बित्न लाग्दासमेत नेकपा एमालेले कारबाही गर्न पठाएका १४ जना नेताहरूलाई कारबाही गर्न विलम्ब गरिरहेको बताउनुभयो ।
‘सम्माननीय सभामुख ज्यूले जनता समाजवादी पार्टीकी सांसद सरिता गिरीलाई २४ घण्टा नबित्दै सूचना जारी गरेर निष्कासन गर्नुभयो । त्यसपछि टोपबहादुर रायमाझी, गौरीशंकर चौधरी, प्रभू साह, लेखराज भट्टलगायत प्रतिनिधि सभा सांसदहरूलाई प्रचण्ड कमरेडले सिफारिस गरिसकेपछि ७२ घण्टाभित्र सूचना प्रकाशित गरेर उहाँहरुलाई निष्कासन गर्नुभयो, तर नेकपा एमालेले गरेको हकमा के कारणले विलम्ब भइरहेको छ भनेर प्रश्न सोध्यौँ,’ भट्टराईले भन्नुभयो ।







प्रतिक्रिया