अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

जलजला गाउँपालिकाका अध्यक्ष मल्ललाई पक्राउ गर्न अदालतको पुर्जी

जलजला गाउँपालिकाका अध्यक्ष मल्ललाई पक्राउ गर्न अदालतको पुर्जी


पर्वत– जिल्लाको जलजला गाउँपालिका अध्यक्ष यामबहादुर मल्ललाई पक्राउ गर्न कास्की जिल्ला अदालतले जिल्ला प्रहरी कार्यालय पर्वतलाई पत्राचार गरेको छ ।

गत साउन ३१ गते अदालतको तहसिल शाखाबाट प्रहरीलाई लेखिएको पत्रमा अध्यक्ष मल्ललाई पक्राउ गरी अदालतमा दाखिला गर्न अनुरोध गरिएको जनाइएको छ । अध्यक्ष मल्ललाई व्यवसायी ध्रुवबहादुर थापासँग लेनदेनको मुद्दामा विसं २०७७ चैत २७ मा पक्राउ गरी छ महिना कैदमा राख्न जिल्ला कारागार कास्कीमा पठाइदिनु भनी आदेश भएकाले पक्राउ गर्न भनिएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

जिप्रका प्रमुख शिवराज बुढाथोकीले अदालतको पत्र आएपछि अध्यक्ष मल्ललाई पक्राउ गर्न खोजी भइरहेको जानकारी दिनुभयो । ‘हामीले खोजी गरिरहेका छौँ, उहाँ कहाँ हुनुहुन्छ भन्ने थाहा पाइएको छैन,’ उहाँले भन्नुभयो, ‘जतिसक्दो छिटो पक्राउ गरेर अदालतमा पेश गर्ने गरी खोजी भइरहेको छ ।’

यसबारे बुझ्न सम्पर्क गर्दा अध्यक्ष मल्लले आफूले अहिलेसम्म कसैलाई एक रुपैयाँ पनि नठगेको जनाउँदै विसं २०६८ मा राजेश बोहराले फोर्स गाडी निकाल्दा जमानी बसिदिएको र बोहराले पैसा तिर्न नसकेपछि आफैँले तिरिदिएको बताउनुभयो । विसं २०६८ कात्तिक १४ गते आफू जमानी बसिदिएको र तिर्नुपर्ने रकम रु १० लाख १७ हजार ९५ रहेको पनि मल्लको भनाइ छ ।

‘किनेको मान्छेले तिर्न नसकेपछि कानुनअनुसार जमानी बसेको मान्छेले तिर्नुपर्ने हुन्छ । मैले पैसा तिरिरहेको छु । धनी नबिल बैंक पोखरा शाखा हो भने ध्रुव थापा प्रोप्राइटर रहेको हिमालयन इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कन्स्ट्रक्शन प्रालि भन्ने रहेको छ । बा२ख ३२८४ नंको फोर्स माइक्रो गाडी राजेश बोहराको नाममा ऋणी थियो,’ उहाँले भन्नुभयो, ‘उसले नतिरे म तिरौँला भनेर नै जमानी बसेको हुँ । बोहोराले गाडी चलाउन नसकेपछि हिमालयन अटोले गाडी पनि लगेर त्यहीँ राखेको छ । यसबारेमा बल्ल थाहा पाएपछि मैले सबै पैसा दिएको छु ।’