काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्ला डडेलधुरामा नेकपा एमालेले जिल्ला स्तरीय कार्यकर्ता भेला गरेको छ ।
जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेलामा विधान संशोधनको लागि सुझाव समेत संकलन गरिएको थियो । विधान संशोधनका लागि जिल्लाका सात वटै पालिकाबाट संकलन गरिएका सुझाव माथि समेत भेलामा छलफल भएको थियो । भेलाले १४ बुँदे समसामयिक प्रस्ताव पारित गरेको छ ।
भेलाले नेकपा एमालेलाई अझ व्यवस्थित गर्ने निर्णय गरेको छ । भेलाले स्थानीय तहसम्मका कमिटीलाई थप प्रभावकारी बनाउने निर्णय गरेको छ ।
नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटी अध्यक्ष कर्ण बहादुर थापाको प्रमुख आतिथ्यता तथा केन्द्रीय कमिटी सदस्य एवं सुदूरपश्चिम प्रदेश कमिटी सचिव एवं डडेल्धुरा ईन्चार्ज राजेन्द्रसिंह रावलको विशिष्ट आतिथ्यता र पार्टीका डडेल्धुराका अध्यक्ष प्रकाश साउदको अध्यक्षतामा भेला सम्पन्न भएको हो । भेलालाई नेकपा एमाले प्रदेश कमिटी सदस्य एवं सुदूरपश्चिम प्रदेश सभा सदस्य पठानसिंह बोहरा, प्रदेश कमिटी सदस्य एवं पूर्व जिविस सभापति गजेन्द्र शाही, अमरगढी नगरपालिका नगर प्रमुख विश्वेश्वरप्रसाद ओझा, राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय उपाध्यक्ष गजेन्द्र शाही लगायतका नेताले सम्बोधन गर्नुभएको थियो ।
वक्ताहरुले पार्टीबाट केही अवसरवादीहरु चोइटिएर गएको भन्दै अब पार्टी कामलाई प्रभावकारी रुपमा अघि बढाउनुपर्नेमा जोड दिनुभएको थियो । उहाँहरुले कार्यकर्तालाई संगठन विस्तारको काममा लाग्न आग्रह गर्नुभयो ।
भेलाले आगामी चुनावमा काँग्रेस नै प्रतिष्पर्धी भएको ठहर गरेको छ । एमालेको प्रतिष्पर्धी माओवादी हुनै नसक्ने ठहर बैठकले गरेको छ ।
प्रतिक्रिया