अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

‘सभामुखलाई एमाले सांसदले दिएको अभिव्यक्ति लोकतान्त्रिक प्रणालीविरुद्ध’

‘सभामुखलाई एमाले सांसदले दिएको अभिव्यक्ति लोकतान्त्रिक प्रणालीविरुद्ध’


काठमाडौं– प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र) लगायतका दलले सभामुख अग्निप्रसाद सापकोटमाथि नेकपा(एमाले)का सांसदहरूले यही भदौ ३ र ४ गते उहाँको कार्यकक्षमा देखाएको व्यवहारको निन्दा गरेका छन् ।

ती दलका तर्फबाट आज जारी गरिएको संयुक्त विज्ञप्तिमा सभामुखको कार्यकक्षमा प्रमुख प्रतिपक्षी दल एमालेका सांसदले सभामुखलाई लक्षित गरी दिएको संसदीय मर्यादाविपरीत बल प्रयोग जस्ता धम्कीपूर्ण अभिव्यक्ति र सोही दिन प्रमुख विपक्षी दलका नेताले सार्वजनिकरुपमा सञ्चारमाध्यमममा दिनुभएको धम्कीमूलक अभिव्यक्तिप्रति आफूहरुको गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ ।

नेपालको संवैधानिक व्यवस्थाअनुसार सभामुख पद व्यवस्थापिकाको प्रमुख हुनाका साथै सङ्घीय संसद्को संरक्षक पनि भएको जनाउँदै संयुक्त विज्ञप्तिमा सभामुखविरुद्धका धम्कीपूर्ण अभिव्यक्ति वर्तमान संवैधानिक व्यवस्था र लोकतान्त्रिक प्रणालीविरुद्धका हुन् भनिएको छ ।

संवैधानिक व्यवस्थाको रक्षा गर्नु सबै सांसदको दायित्व रहेको उल्लेख गर्दै विज्ञप्तिमा सभामुखविरुद्ध दिइएको धम्कीपूर्ण अभिव्यक्तिप्रति घोर आपत्ति प्रकट गर्दै संवैधानिक मर्यादाको अवलम्बन गर्न आग्रह गरिएको छ ।

यसरी संयुक्त विज्ञप्ति जारी गर्नेमा काँग्रेसका सचेतक पुष्पा भुसाल, माओवादी केन्द्रका प्रमुख सचेतक देवप्रसाद गुरुङ, जनता समाजवादीका सांसद प्रदीप यादव, राष्ट्रिय जनमोर्चाका सांसद दुर्गा पौडेल र प्रतिनिधिसभा सदस्य जीवनराम श्रेष्ठ हुनुहुन्छ ।

आफ्नो पार्टीले कारवाही गरेका १४ सांसदलाई कारवाही नगरेको भन्दै एमालेका सांसद यही भदौ ३ र ४ गते सभामुखको कार्यकक्षमा धर्ना बसेका थिए । सो क्रममा सभामुखले अरु दलका सांसदलाई तत्काल कारवाही गरेको भए पनि एमालेकालाई जोगाएको भन्दै आपत्ति जनाइएको थियो । सोही क्रममा केही सांसदले अर्मादित व्यवहार गरेको सभामुखको सचिवालयले जनाएको थियो ।