अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

शिवसताक्षी वित्तीय सुशासन कायम राख्नेमा पहिलो नगरपालिका

शिवसताक्षी वित्तीय सुशासन कायम राख्नेमा पहिलो नगरपालिका


झापा– जिल्लाको शिवसताक्षी नगरपालिका आर्थिक अनुशासन र वित्तीय सुशासन कायम राख्नेमा मुलुकमै पहिलो पालिका बनेको छ ।

महालेखा परिक्षकको कार्यालय काठमाडौंले आफ्नो नियमित वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै शिवसताक्षी कम बेरुजु गर्ने पालिका देखाएको हो । शिवसताक्षी नगरपालिका मुलुकका ७५३ पालिका मध्ये सबैभन्दा कम बेरुजु गर्ने पालिकामा पहिलो बनेको नगरको लेखा शाखाले दाबी गरेको छ ।

प्रतिवेदनले ११ लाख ७७ हजार मात्र बेरुजु देखाएको छ । गत आर्थिक वर्ष ०७७/०७८ मा १ अर्ब ९० करोड ५३ लाख ६८ हजार रुपैयाँको लेखा परिक्षण गरिएको थियो । त्यस मध्ये ०.०६ प्रतिशत बेरुजु हो ।

नगरपालिकाको लेखा शाखामा चालु आवमा निर्माण सम्पन्न भएका योजनाका ठेकेदार र निर्माण उपभोक्ता समितिका पदाधिकारले आवश्यक कागजात समयमै नल्याएका कारण केहि रकम बेरुजु देखिएको प्रमुख लेखा अधिकृत प्रकाश योङहाङले बताए । उनका अनुसार केही रकम संघिय सरकारले असार २५ गते मात्र पठाएका कारणले पनि बेरुजु देखिएको हो ।

‘वित्तिय अनुशासनलाई कायम राखेका कारण नगरको शिर उच्चो बनाउन सकेकोमा गर्व लागेको छ,’ उनले भने । रकम भुक्तानी गर्नुपर्ने आधार पेश गरेपछि मात्र लेखाशाखाले भुक्तानी दिने गरेको उनले बताएका छन् । ‘करकाप, जवरजस्ती र हचुवाका भरमा भुक्तानी नदिँदा पनि बेरुजु आयो । यसलाई आगामी वर्षमा शून्य प्रतिशतमा झार्ने लेखा साखाबाट प्रयास हुने छ,’ योङहाङले भने ।

प्रमुख प्रशासकीय अधिकृत गीताकुमारी राईले शिवसताक्षी नगरपालिका कम बेरुजु गर्ने पालिका मध्ये मुलुकमा पहिलो भएकोमा खुसी लागेको बताइन् । अनुभवी कर्मचारी भएका कारण बेरुजु शून्य प्रतिसतको नजिकमा झरेको उनले बताएकी छन् ।

गत वर्ष १ दशमलव ५ प्रतिशत बेरुजु रहेको नगरमा यो वर्ष घटेको उनले बताएका छन् ।

यता जिल्लाको कमल गाउँपालिका पनि मुलुकमा कम बेरुजु गर्ने पालिकामा परेको छ । उसले ०.०८ प्रतिशत बेरुजु गरेको छ । कमल गाँउपालिका कम बेरुजु गर्ने मुलुकभरका पालिकामा चौथो नम्बरमा परेको छ ।
यता सबै भन्दा धेरै बेरुजु गर्ने १० वटा पालिका सबै प्रदेश नम्बर २ का हुन् ।

महोत्तरीको पिपरा गाँउपालिकाले ३७.९७ प्रतिशत बेरुजु गरेको छ । उसले १ अर्ब १२ करोड ०९लाख ७९ हजार को लेखा परिक्षण गरिएको थियो ।