अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नयाँ दल दर्ता

नेकपा एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादीको सनाखत आज

नेकपा एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादीको सनाखत आज


काठमाडौं– निर्वाचन आयोगले नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) र लोकतान्त्रिक समाजवादी पार्टी नेपाललाई सनाखतका लागि बुधबार बोलाएको छ ।

निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले दुवै दलका पदाधिकारी सनाखतका लागि आयोगमा भौतिक रूपमा उपस्थिति जनाउनुपर्ने बताउनुभयो ।

संसदीय दल र केन्द्रीय समितिमा २० प्रतिशतको समर्थनमा दल विभाजन हुनसक्ने राजनीतिक दलसम्बन्धी अध्यादेश जारी भएसँगै नेकपा एमाले औपचारिक रूपमा विभाजित भएको हो। यसलगत्तै नेता नेपाल पक्षका ९५ जना केन्द्रीय सदस्य र ३१ जनाभन्दा बढी सांसदले नेकपा (एकीकृत समाजवादी) नामको नयाँ दल दर्ता गराएका थिए ।

यस्तै जनता समाजवादी पार्टी विभाजित भई महन्थ ठाकुरको नेतृत्वमा लोसपा नेपाल गठन भएको हो। नेता नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) र ठाकुर नेतृत्वको लोसपा नेपाल दल दर्ताका लागि भदौ ४ गते शुक्रबार आयोगमा निवेदन दर्ता भएको थियो।

बुधबार बिहान १०ः३० देखि दिउँसो २ बजेभित्र दुवै दलको सनाखत गरेर यस सम्बन्धमा आयोगले निर्णय लिने पनि प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो ।