अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गुल्मीका स्थानीय तहमा २२ करोड बेरुजु, सबैभन्दा बढी सत्यवती र मुसिकोटमा

गुल्मीका स्थानीय तहमा २२ करोड बेरुजु, सबैभन्दा बढी सत्यवती र मुसिकोटमा

रासस
0
Shares

गुल्मी– गुल्मीका स्थानीय तहमा २२ करोड बेरुजु देखिएको छ । दुई नगरपालिका र १० गाउँपालिका गरी १२ पालिका रहेको जिल्लामा आर्थिक वर्ष २०७६/७७ मा कूल २१ करोड ८२ लाख ५८ हजार बेरुजु देखिएको महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख छ । आव ०७५÷७६ मा भन्दा ०७६/७७ मा जिल्लाका पालिकाहरुमा रु एक करोड ६८ लाख ५५ हजार कम बेरुजु आएको छ । आव ०७६÷७७ मा जिल्ल्लाका १२ पालिकामा २३ करोड ५१ लाख १३ हजार बेरुजु आएको थियो । आव ०७४/७५ मा भने जिल्लामा कूल रु १२ करोड ७५ लाख १४ हजार बेरुजु देखिएको थियो ।

सत्यवती र मुसिकोटमा धेरै, मदानेमा कम

जिल्लाका सबै स्थानीय तहहरुमध्ये सत्यवती गाउँपालिकामा बढी बेरुजु देखिएको छ । एक अर्ब ३४ करोड ४५ लाख १६ हजारको लेखापरीक्षण गर्दा चार करोड २४ लाख ७८ हजार बेरुजु देखिएको छ । सत्यवतीमा ०७५÷७६ मा दुई करोड ६८ लाख ४८ बजार बेरुजु देखिएको थियो । ०७५÷७६ मा भन्दा ०७६÷७७ मा सत्यवतीमा एक करोड ५६ लाख ३० हजारभन्दा बढी बेरुजु देखिएको छ । जुन आर्थिक पारदर्शिताको दृष्टिकोणले राम्रो मानिँदैन ।

सत्यवतीपछि मुसिकोट नगरपालिकामा बढी बेरुजु आएको छ । एक अर्ब ३६ करोड नौ लाख ५८ हजारको लेखापरीक्षण गराएको मुसिकोटमा तीन करोड ११ लाख ६६ हजार बेरुजु देखिएको छ । नगरपालिकामा आव ०७५÷७६ मा चार करोड ५४ लाख ८८ हजार बेरुजु आएको थियो । ०७५÷७६ मा भन्दा ०७६÷७७ मा नगरपालिकाले एक करोड ४३ लाख २२ हजार बेरुजु घटाएको छ । ९९ करोड ५१ लाख ४९ हजारको लेखापरीक्षण गराएको कालीगण्डकी गाउँपालिकामा दुई करोड ५५ लाख ५९ हजार बेरुजु देखिएको छ ।

कालीगण्डकीमा आव ०७५÷७६ मा दुई करोड ५२ लाख १२ हजार बेरुजु देखिएको थियो । ०७५÷७६ मा भन्दा ०७६÷७७ मा कालीगण्डकीमा ४३ लाखभन्दा बढी बेरुजु देखिएको महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख गरिएको छ । ९९ करोड ५४ लाख ३८ हजारको लेखापरीक्षण गराएको मालिका गाउँपालिकामा दुई करोड ४९ लाख ७२ हजार बेरुजु देखिएको छ । जुन आव ०७५÷७६ मा भन्दा एक करोड ७३ लाख ५० हजारले बढी हो । मालिकामा आव ०७५÷७६ मा ७६ लाख २२ हजार बेरुजु आएको थियो । त्यस्तै आव ०७४÷७५ मा गाउँपालिकामा कूल तीन करोड ९९ लाख १९ हजार बेरुजु देखिएको थियो ।

चन्द्रकोट गाउँपालिकाले आव ०७५÷७६ मा भन्दा ०७६÷७७ मा एक करोड ९४ लाख ९० हजारले बेरुजु घटाएको छ । जुन प्रशासनिक क्षेत्रमा भएको सुधार हो । आव ०७६÷७७ मा दुई करोड २० लाख बेरुजु देखिएको छ । जबकि ०७५÷७६ मा गाउँपालिकामा चार करोड १४ लाख ९० हजार बेरुजु देखिएको थियो । चन्द्रकोटमै आव ०७४÷७५ मा भने ३५ लाख ९२ हजार बेरुजु देखिएको थियो ।

छत्रकोट गाउँपालिकाले बेरुजु रकम उल्लेख्य मात्रामा घटाएको छ । कूल ९७ करोड १४ लाख ८२ हजारको लेखापरीक्षण गराएको छत्रकोटमा ९४ लाख ११ हजार बेरुजु देखिएको थियो । गाउँपालिकाले आव ०७५÷७६ मा ७८ करोड ९७ लाख ६९ हजारको लेखापरीक्षण गर्दा दुई करोड ९३ लाख २३ हजार बेरुजु देखिएको थियो । आव ०७५÷७६ मा भन्दा ०७६÷७७ मा छत्रकोटमा एक करोड ९९ लाख १२ हजारले बेरुजु रकम घटेको छ ।

कूल ८५ करोड २२ लाख १४ हजारको लेखापरीक्षण गराएको गुल्मीदरबार गाउँपालिकामा एक करोड ६४ लाख ६७ हजार बेरुजु देखिएको छ । आव ०७५÷७६ मा ७० करोड ४३ लाखको परीक्षण गराउँदा गाउँपालिकामा एक करोड ७७ लाख ५३ हजार बेरुजु देखिएको थियो । आव ०७४÷७५ मा तीन लाख ३९ हजार मात्रै बेरुजु देखिएको गुल्मीदरबारमा ०७५÷७६ मा एक करोड ७४ लाख १४ हजार बेरुजु रकम बढी देखिएको थियो ।

एक अर्ब १४ लाख २६ हजार ५१ हजारको लेखापरीक्षण गराएको रेसुङ्गा नगरपालिकामा एक करोड ६० लाख ७६ हजार बेरुजु देखिएको छ । आव ०७५÷७६ मा एक अर्ब नौ करोड १६ लाख ६६ हजारको परीक्षण गराउँदा नगरपालिकामा एक करोड २३ लाख छ हजार बेरुजु देखिएको देखिएको थियो । आव ०७५÷७६ मा भन्दा ०७६÷७७ मा नगरपालिकामा ३७ लाख ७० हजारभन्दा बढी बेरुजु देखिएको छ । आव ०७४÷७५ मा एक करोड ७२ लाख २३ हजार बेरुजु देखिएको थियो ।

धुर्कोट गाउँपालिकामा एक करोड २३ लाख ७४ हजार बेरुजु देखिएको छ । गाउँपालिकाले एक अर्ब पाँच करोड १५ लाख ६७ हजारको परीक्षण गराएको थियो । ०७५÷७६ मा भन्दा ०७६÷७७ मा गाउँपालिकामा २२ लाख ५३ हजार रकम बढी बेरुजु देखिएको छ । आव ०७४÷७५ मा भने धुर्कोटमा कूल एक करोड १६ लाख ४४ हजार बेरुजु आएको थियो । ८७ करोड ८५ लाख ९४ हजारको परीक्षण गराएको इस्मा गाउँपालिकामा एक करोड सात लाख ७५ हजार बेरुजु देखिएको छ । जुन आव ०७५÷७६ भन्दा १४ लाख ६४ हजारले बढी हो । इस्मा गाउँपालिकामा बर्सेनि बेरुजु रकम बढ्दै गएको छ । गाउँपालिकामा ०७४÷७५ मा ७८ लाख ५५ हजार तथा ०७५÷७६ मा ९३ लाख ११ हजार बेरुजु देखिएको थियो ।

रुरुक्षेत्र गाउँपालिकामा ४४ लाख ३४ हजार बेरुजु आएको छ । गाउँपालिकाले ०७६÷७७ का लागि ९९ करोड ४५ लाख ३९ हजारको लेखापरीक्षण गराएको थियो । गाउँपालिकाले बर्सेनि बेरुजु रकमलाई घटाएको छ । आव ०७४÷७५ मा ७९ लाख १८ हजार तथा ०७५÷७६ मा रुरुक्षेत्रमा ७१ लाख २३ हजार बेरुजु आएको थियो । जिल्लामा सबैभन्दा कम मदाने गाउँपालिकामा बेरुजु देखिएको छ । कूल ८९ करोड ७७ लाख १५ हजारको लेखापरीक्षण गराएको मदानेमा २५ लाख ४६ हजार बेरुजु आएको छ । आव ०७५÷७६ मा गाउँपालिकामा २५ लाख १६ हजार तथा ०७४÷७५ मा ४८ लाख ४६ हजार बेरुजु आएको महालेखाले जनाएको छ ।

सबैभन्दा बढी बेरुजु आएको सत्यवती गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत झविश्वर रेग्मीले प्रक्रियागत कमजोरीका कारण बेरुजु आएको प्रतिक्रिया दिनुभयो । महालेखा परीक्षकको कार्यालयले आधिकारिक रिपोर्ट नपठाएका कारण आफूले अध्ययन गर्न नपाएको उहाँले बताउनुभयो ।

अधिकांश कामहरु उपभोक्ता समितिमार्फत गर्दा भ्याट लगायतका विषयवस्तु नमिल्दा बेरुजु आएको हुनसक्ने उहाँले बताउनुभयो । सबैभन्दा कम बेरुजु आएको मदाने गाउँपालिकाका सूचना अधिकारी ऋषि पोखरेल प्रदेश र सङ्घीय सरकारको कानुनबमोजिम काम गरेकाले कम बेरुजु आएको बताउनुभयो । सबै ठेक्का विद्युतीय माध्यमबाट खोलेको, खरिद प्रक्रिया पारदर्शी बनाएको जस्ता कारणले बेरुजु घटेको उहाँले बताउनुभयो ।