काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपालसहितका नेताले अर्को पार्टी गठन गर्दैमा केही फरक नपर्ने बताउनुभएको छ ।
ललितपुरको महालक्ष्मी नगरपालिकामा पार्टीको नगर कमिटी, वडा कमिटी र अखिल नेपाल महिला सङ्घको घोषणा कार्यक्रमलाई आज सम्बोधन गर्दै उहाँले भन्नुभयो, ‘एक/दुई पात पहेँलिएर खस्दैमा रुखलाई केही फरक पर्दैन । रुखमा नयाँ-नयाँ पालुवा पलाउँदैछन्, नयाँ-नयाँ हाँगा हाल्दैछन् ।’
अध्यक्ष ओलीले एक/दुई वटा पात खस्दैमा रूखलाई फरक नपरे जस्तै पार्टीमा विभाजन गरी कोही जाँदैमा फरक नपर्ने बताउनुभयो ।
महासागरजस्तो एमाले पार्टीमा पौडी खेल्ने ठाउँ नभएर केही साथीले खाल्डो खनेको बताउँदै उहाँले पार्टीको केही साथीहरू प्रतिक्रियावादी र विदेशीको चङ्गुलमा परेर पार्टी विभाजन गरेको आरोप लगाउनुभयो । ‘पार्टीका केही मानिसलाई मैले धेरै सम्झाउन र बुझाउन कोसिस गरेको थिएँ,’ उहाँले भन्नुभयो, ‘एमालेलाई ध्वस्त पार्छु भनेपछि त्यस्ता मानिसलाई सम्झाएर र बुझाएर सकिँदैन ।’
अध्यक्ष ओलीले आगामी निर्वाचनमा आफूविरुद्ध भएको षड्यन्त्रको एकमुष्ट जवाफ दिने उल्लेख गर्दै मुलुकलाई पछौटेपनबाट आधुनिक, अविकसितबाट विकसित, कृषिको व्यावसायिकीकरण, उद्योगको आधुनिकीकरण, डिजिटल नेपालको परिकल्पनालाई साकार पार्ने काम अब एमालेले गर्ने बताउनुभयो ।






प्रतिक्रिया