झापा– ल्याण्डफिल्ड साइटको व्यवस्था नहुँदा विर्तामोड नगरपालिमा १२ दिनदेखि फोहर मैला सडक किनारमा जथाभावी थुप्रिँदा दुर्गन्ध बढ्न थालेको छ । विगतमा पूर्वपश्चिम राममार्गको आसपास, डोमालाल रङ्गशालाको पश्चिमी भाग र देउनिया खोला किनारमा खाल्डो खनेर पुरिने गरेको फोहरमैला अहिले सडक किनारमै थुप्रिँदा दुर्गन्ध बढेको हो ।
केही दिनदेखि लगातार परेको वर्षाका कारण फोहर पुर्न खनिएको खाल्डोमा दुई फिटमै जमिनमुनिको पानीसमेत निस्कने हुँदा समस्या भइरहेको बिर्तामोड उद्योग वाणिज्य सङ्घका अध्यक्ष प्रकाश शिवाकोटीले बताउनुभयो । “फोहर व्यवस्थापनका लागि नगरपालिकाले ठेक्का लगाए पनि ठेकेदार कम्पनीलाई जमिन उपलब्ध गराउन नसक्दा फोहर जताततै थुप्रिएको हो । “जमिनको व्यवस्था नभएसम्म विगतमा जस्तै खाली स्थानमा खाल्डो खनेर पुर्न खोज्दा पानी निस्केर समस्या भयो”, उहाँले भन्नुभयो, “कोरोनाभन्दा पनि जटिल समस्या फोहरमैलाको बन्यो ।”
नगरपालिकाले सर्वदलीय भेलाबाट नै ल्याण्डफिल्ड साइटको व्यवस्थापनका लागि बिर्तामोड–४ का वडाध्यक्ष कुलप्रसाद सङ्ग्रौलाको संयोजकत्वमा फोहरमैला विर्सजनस्थल अध्ययन तथा छनोट समिति बनाएको छ । समितिमा शिवाकोटसहित विभिन्न राजनीतिकका दलका प्रतिनिधि रहेका छन् । समितिले समेत तत्काल जग्गा व्यवस्थापन गर्न नसक्दा फोहरमैला व्यवस्थापनमा ठेक्का लिएको ठेकेदार कम्पनीले काम गर्न नसकेको नगरपालिकाका प्रवक्ता अग्नि पाण्डेले बताउनुभयो ।
नगरपालिकाले दुई महिनाअघि मात्र काडमाडौँकोे निराकर सरसफाइ सेवा प्रालिलाई तीन वर्षका लागि रु १० लाख धरौटी रकम लिएर फोहर व्यवस्थानको जिम्मा दिएको थियो । प्रवक्ता पाण्डेका अनुसार दैनिक नगरबाट २० ट्र्याक्टर फोहरमैला उत्पादन हुने गरेको छ ।





प्रतिक्रिया