अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

झलनाथ खनालको दुखद संयोग : न पार्टी मिल्दा स्वदेशमा, न त फुट्दा नै

झलनाथ खनालको दुखद संयोग : न पार्टी मिल्दा स्वदेशमा, न त फुट्दा नै


काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (एस) का वरिष्ठ नेता झलनाथ खनालको जीवनमा अनेक घटना भएको होलान् । कोही सुखद् कोही दुखद् होलान् । तर दुईवटा घटनाका चाँही उहाँको राजनीतिक जीवनमा कहिले पनि भूल्न नसक्ने भएका छन् । त्यसलाई दुखान्त भन्ने कि सुखान्त संयोग ।

घटना के हो भने २०७५ साल जेठ ३ गते देशका दुई ठूला कम्युनिष्ट पार्टीहरु नेकपा एमाले र नेकपा माओवादी केन्द्रको एकता भयो । त्यस दिन एमालेका वरिष्ठ नेता झलनाथ खनाल नेपालमा हुनुुहन्नथ्यो । उपचारका लागि उहाँ चाइना गएका बेला आफूले केही समय अघि नेतृत्व गरेको पार्टी र अर्को कम्यूनिष्ट पार्टीको एकता सम्पन्न भएर नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को जन्म भयो ।

झलनाथको अनुपस्थितिमा त्यसबेला पार्टी एकता मात्र भएको थिएन । उहाँको वरिष्ठ पद पनि खोसिएको थियो । चाइनाबाट फर्केपछि लामै समय यस विषयमा उहाँले पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग गन्गन् गरिरहनुभएको थियो । ‘म नभएको बेला किन पार्टी एकता गरेको भनेर उहाँले धेरै लामो समय सम्म सोधिरहनुभयो,’ एमालेका एकजना नेता भन्नुहुन्छ, ‘तपाईंलाई केही दिन बाहिर नजानुहोस है । देशमा महत्वपूर्ण केही घटना हुनसक्छ भनेर मैले भनेको होइन भनेर तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले सम्झाइरहनु हुन्थ्यो ।’

झलनाथको गनगन् त्यतिले मात्र सकिएन । मेरो बरिष्ठ पद खोसेर किन माधव नेपाललाई दिएको भनेर उसैगरी सोधिरहनु भयो । ‘ठूला ठूला पार्टीको एकता हुँदा पुरानो जिम्मेवारी खोजेर पाइँदैन । आवश्यकता र औचित्यका आधारमा नयाँ मान्छेले त्यो जिम्मेवारी पाउन सक्छन् भनेर पनि केपी कमरेडले लामो समय सम्झाउनु परेको थियो ।’ खनाल त्यसबेला उपचारका लागि चाइना जानु भएको थियो ।

अर्को संयोग करिब ३८ महिना पछि झलनाथको जीवनमा दोहोरिएको छ । त्यसबेला पार्टी जुटेको थियो तर यसपालि पार्टी फुटेको छ । अहिले झलनाथ खनाल उपचारका लागि दिल्लीमा हुनुहुन्छ । उहाँ अस्पतालको शैयामा हुँदैका बेला नेकपा एमाले पार्टी फुटेको छ । तर यसपाली पहिला जस्तो झलनाथको पद खोसिएको छैन । नेकपा (एस)को बरिष्ठ नेताका रुपमा उहाँको नाम सुरक्षित राखिएको छ ।

खनालको अनुपस्थितिमै यत्रा यत्रा घटना हुनु भनेको उहाँको राजनीतिक भूमिका कमजोर हुँदै गएको संकेत हो । ‘झलनाथको भूमिकाले पार्टी जुट्न वा फुट्न असर गर्छ भन्ने महसुस गरेको भए न केपी ओलीले झलनाथ देशमा नभएका बेला पार्टी एक्ता गर्नुहुन्थ्यो । न माधव नेपालले झलनाथको अनुपस्थितिमा पार्टी फुटाउनुहुन्थ्यो । यसले झलनाथको राजनीतिक प्रभाव अब करिब सकिएको पुष्टि हुन्छ,’ एमालेका अर्का एक नेताको टिप्पणी छ ।