अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेले कारबाही गरेका माधवसहित १४ सांसदको पद नजाने

एमालेले कारबाही गरेका माधवसहित १४ सांसदको पद नजाने


काठमाडौं– सभामुख अग्निप्रसाद सापकोटाले नेकपा (एमाले) ले कारबाहीका लागि सिफारिस गरेका १४ सांसदलाई कारबाही गर्न नपर्ने निर्णय गर्नुभएको छ ।

एमालेले कारबाही सिफारिस गरेका माधव नेपालसहित १४ सांसद मिलेर अर्को दल गठन भएको र नयाँ दल गठनको भएको जानकारी संसद्लाई समेत भइसकेको भन्दै सभमुख सापकोटाले कारबाही गरिरहन नपर्ने निर्णय गर्नुभएको संघीय संसद् सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले जानकारी दिनुभयो ।

‘मिति २०७८ भदौ १ गते प्राप्त पत्रमा कारबाहीको सिफारिस गरिएका १४ सांसद सहित संलग्न भएर नेकपा (एकीकृत समाजवादी) नामक पार्टी दर्ता भएको पत्र भदौ ११ गते निर्वाचन आयोगबाट जानकारी प्राप्त भयो । राजनीतिक दलसम्बन्धि ऐन तथा अन्य कुनै कानुनअनुसार कारबाही गरिरहनुपर्ने अवस्था रहेन,’ उहाँले भन्नुभयो ।

२०७८ वैशाख २७ गते प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने क्रममा संसद् बैठक बहिष्कार गरेर पार्टीको ह्वीप उल्लंघन गरेको भन्दै एमालेले १४ सांसदलाई पार्टीबाट र संसद् सदस्यबाट हटाउने निर्णय गरेको थियो ।

एमालेले कारबाही गरेका सांसदमा माधव नेपाल, जीवनराम श्रेष्ठ, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, कल्याणी खड्का, लक्ष्मीकुमारी चौधरी, नीरादेवी जैरु, पुष्पाकुमारी कर्ण कायस्थ, सरलाकुमारी यादव, कलिला खातुन, विरोध खतिवडा, कृष्णलाल महर्जन, भवानी खापुङ र मेटमणि चौधरी हुन् ।