काठमाडौं– अफगानिस्तानको राजधानी काबुलमा फेरि बम आक्रमण भएको छ। आइतवार साँझ काबुलको अन्तर्राष्ट्रिय विमानस्थल नजिकै रकेट आक्रमण भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।
काबुल विमानस्थल नजिकैको खावजा बुग्र भन्ने स्थानको एक घर वस्तीमा आक्रमण भएको हो। रकेट आक्रमणपछि ठूलो आवाजमा विस्फोट र धुवाँको मुस्लो देखिएको छ।
काबुलबाट बेलायती सेना पूरै निस्किसकेपछि फेरि आक्रमण भएको हो। त्यहाँबाट अमेरिकी सेनाको अन्तिम टोली पनि बाहिरिने तर्खरमा छ।
काबुल विमानस्थललाई तालिबानले नियन्त्रणमा लिने तयारी गरिरहेका बेला भएको रकेट आक्रमणले त्यहाँको सुरक्षा चिन्ता बढाएको छ।
रकेट आक्रमणबाट भएको क्षतिबारेमा केही विवरण आइसकेको छैन। केही दिनअघि काबुल विमानस्थल नजिकै दुई शक्तिशाली विस्फोट हुँदा १३ अमेरिकी सैनिकसहित १५० जनाले ज्यान गुमाएका थिए।
तालिबानले शासन हातमा लिएपछि अफगानिस्तानमा आइसआइसका विभिन्न समूहले आक्रमण चेतावनी दिएका छन्। काबुल विमानस्थल आक्रमणको जिम्मेवारी पनि आइसले नै लिइसकेको छ।





प्रतिक्रिया