काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्वार्थी व्यक्तिहरुले पार्टीलाई सत्तापक्षबाट प्रतिपक्षमा पुर्याएको बताउनुभएको छ ।
२०७८ भदौ ८ गते बसेको स्थायी कमिटी र १० गते बसेको केन्द्रीय कमिटीको बैठकका निर्णयहरू र निष्कर्षहरू मातहत कमिटी र पार्टी सदस्यहरुसमक्ष जानकारी एवं कार्यान्वयनका निम्ति पठाइएको अन्तरपार्टी निर्देशनमा अध्यक्ष ओलीले पार्टीभित्रका केही स्वार्थी र विभाजनकारी व्यक्तिहरूका क्रियाकलाप तथा पार्टी बाहिरका विभिन्न शक्ति/तत्वहरूका षडयन्त्रका कारण पार्टीले असहज स्थितिको सामना गर्नुपरेको बताउनुभएको छ । ‘पार्टीको भूमिका बदलिएको छ र हामी सत्तापक्षबाट प्रतिपक्षमा रुपान्तरित भएका छौं । संविधानको अपव्याख्या एवं विभिन्न स्वार्थ–समूहहरूको गठबन्धनको बलमा मुलुकमा अगाडि बढेको सामाजिक–आर्थिक रुपान्तरणको अभियानलाई अवरुद्ध गर्ने र राष्ट्रिय राजनीतिलाई पछाडि फर्काउने असंवैधानिक र अलोकतान्त्रिक प्रयास तीब्र पारिएको छ,’ अपानिमा भनिएको छ ।
अध्यक्ष ओलीले पार्टी विभाजनको घटनाले मुलुकको कम्युनिष्ट आन्दोलन, लोकतान्त्रिक प्रणाली, संवधानिक सुव्यवस्था र जनताको सर्वोच्चता माथि चुनौती खडा गरेको जिकिर गर्नुभएको छ । ‘हाम्रो पार्टीले यस परिस्थितिको संवैधानिक, लोकतान्त्रिक र जनपरिचालनका विधिबाट सामना गर्ने अठोट गरेको छ,’ अध्यक्ष ओलीले भन्नुभएको छ, ‘स्वार्थहरूको गठजोड एवं ईष्या, कुण्ठा र प्रतिशोधको भावनामा उभिएको वर्तमान सत्तापक्षीय गठबन्धन आधारभूत रुपमा अवसरवादी एवं दक्षिणपन्थी चरित्रको छ ।’
एमालेले नयाँ गठबन्धनले मुलुकको समस्या समाधान गर्न नसक्ने, बरु मुलुकलाई पश्चगामी दिशातिर फर्काउने आशंका बलियो बन्दै गएको दाबी गरिएको छ ।







प्रतिक्रिया