काठमाडौं– नेकपा एमालेका केन्द्रीय सदस्य कैलाशप्रसाद ढुंगेलले एमाले नेता कार्यकर्तालाई एमाले सरकारको पालामा भएको कामको अभिलेख राख्न सुझाव दिनुभएको छ ।
रामेछापको खाँडादेवी गाउँपालिकामा आयोजना गरिएको कार्यक्रममा बोल्दै वाग्मती प्रदेशका निवर्तमान आर्थिक मामिला तथा योजना मन्त्री समेत रहनुभएका ढुंगेलले कम्तिमा एमालेको पार्टी कार्यालयमा एमाले सरकारको पालामा संघ, प्रदेश र स्थानीय सरकारले गरेका कामको अभिलेख राख्न सुझाव दिनुभयो । ‘एमाले सरकारले गरेका विकासको काम एमाले नेताले भन्न नहुने ? एमालेको सरकारले काम गर्छ, काठमाडौं बस्ने पार्टीको नेता थररर हुन्छ, यो कस्तो संस्कार हो ?,’ उहाँले भन्नुभयो ।
उहाँले एमाले सरकारले गरेका विकासका कामको प्रोफाइल बोकेर आउने स्थानीय चुनावमा जानु पर्ने बताउनुभयो । ‘संघ, प्रदेश र स्थानीय सरकारले गरेका कामको प्रोफाइल बोकेनौँ भने हामीले के मुखले भोट माग्छौँ ? के भन्छौँ हामी ?’, उहाँले भन्नुभयो ।
ढुंगेलले एमालेको वाग्मती प्रदेश सरकारले दुध किसानलाई एक लिटर दुध बेच्दा दुई रुपैँया अनुदान दिने व्यवस्था मिलाएको बताउनुभयो । त्यस्तै क्यान्सरका रोगीलाई उपचारको लागि ५० हजार सहयोग, उद्यमीलाई विनाधितो ऋण, बाबु आमा गुमाएका बालिबालिकालाई मासिक दुई हजार रुपैँया सहयोग लगायतका लोक कल्याणकारी कार्यक्रम ल्याएको उहाँले जानकारी दिनुभयो । ‘प्रत्यक्ष नागरिकको हातमा पैसा पुग्ने, सुक्खा डाँडामा पानी पुर्याउने, मान्छे हिँड्न नसक्ने ठाउँमा पिच बाटो पुर्याउने, खोलामा पक्की पुल बनाउने काम गरेका छौँ, घरघरमा बिजुली पुर्याएका छौँ, यो कुराको प्रचार हाम्रा नेता कार्यकर्ताले नगरे कसले गर्छ ?’ उहाँले प्रश्न गर्नुभयो ।
पार्टीभित्र केही समस्या भएको बताउँदै उहाँले विभिषणले आफ्नै दाजु विरुद्ध शत्रुसँग मिलेर रावणलाई सिध्याए जस्तै माधव नेपालले शत्रुसँग मिलेर आफ्नै पार्टी सिध्याएको उहाँले बताउनुभयो । ‘माधव नेपाललाई उचालेर कम्युनिष्ट विरोधीले एमाले सिध्याउने प्रयत्न गरे, माधव नेपालले आफ्नै घर जलाएर खरानीको टीका लगाउने काम गरे’, ढुंगेलले भन्नुभयो ।
उहाँले एमाले नेपालको राजनीतिको मूल पार्टी भएको दाबी गर्नुभयो । एमालेमा अब कसैलाई करकापमा नराखिने उहाँको भनाइ छ । ‘यो मूल पार्टी हो, यसले हिमालमा झण्डा गाड्छ भन्ने लाग्छ यो पार्टीमा बस्नुस्, शंका लाग्छ भने जुन दिन शंका निवारण हुन्छ, त्यही दिन एमालेमा आउनुहोला, अबको राजनीतिमा नत्थी लगाई मेरो पार्टीमा आइज भनेर कसैलाई ल्याइँदैन’, उहाँले भन्नुभयो ।
उहाँले बीचको अलमलमा रहेका नेता कार्यकर्तालाई कित्ता क्लियर गर्न आग्रह गर्नुभयो । ‘कि यता कि उता क्लियर हुनुस्, बीच बलेसीमा बस्नु राम्रो हुँदैन’, उहाँले भन्नुभयो ।
एमालेको रामेछाप जिल्ला इञ्चार्ज समेत हुनुभएका ढुंगेलले रामेछापबाट माधव नेपालले बनाएको पार्टीमा देवशंकर पौडेल बाहेक कुनै नेता कार्यकर्ता नगएको बताउनु भयो । एमाले छाडेर अन्य पार्टीमा जानेलाई रातमा निन्द्रा नलाग्ने उहाँको भनाइ छ ।
उहाँले एमाले संगठन, विचार र नेतृत्वको पार्टी भएकाले कसैले चाहँदैमा विभाजन गर्न नसक्ने बताउनुभयो । एमाले विधिमा चल्ने पार्टी भएको ढुंगेलले प्रष्ट पार्नुभयो ।







प्रतिक्रिया