अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सत्तारुढ गठबन्धन टालाटुली बटुली जस्तो : महासचिव पोखरेल

सत्तारुढ गठबन्धन टालाटुली बटुली जस्तो : महासचिव पोखरेल


काठमाडौं– प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का महासचिव ईश्वर पाखरेलले सत्तारुढ गठबन्धनलाई ‘टालाटुली’को संज्ञा दिनु भएको छ ।

महासचिव पोखरेलले सत्तारुढ गठबन्धन धेरै दिन टिक्न नसक्ने दाबी समेत गर्नु भयो । सोमबार काठमाडौंमा आयोजित सञ्चारकर्मीसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले आफ्नो पार्टी ’नेशनल पोलिटिक्स‘को सही पोलमा उभिएर मुलुकलाई सही दिशा दिने गरी अघि बढ्ने पनि बताउनुभयो । महासचिव पोखरेलले भन्नु भयो, ‘टालाटुली बाटुली जस्तो यो गठबन्धन कसरी रहन्छ, कति दिन रहन्छ ? कसरी काम गर्छ, हेर्दै जानु छ । हामी नेशनल पोलिटिक्सको सही पोलमा उभिएर मुलुकलाई सही दिशा दिने हिसावले अगाडि जान्छौं ।’

महासचिव पोखरलले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एमालेभित्रको गुटबन्दीको कारण आफ्नो पार्टीमा विभाजन आएको पनि स्मरण गराउनु भयो । उहाँले पार्टीको आगामी महाधिवेशनमा आफू पनि अध्यक्ष पदका लागि योग्य उम्मेदवार भएको बताउनु भयो । सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा महासचिव पोखरेलले इतिहास, निष्ठा, निरन्तरता र क्षमता सबै हिसावले आफू कुनै पनि जिम्मेवारी लिन सक्षम रहेको बताउनु भयो । तर त्यसका लागि परिस्थितिको ख्याल गरेर आफू अघि बढने उहाँको भनाई छ । महासचिव पोखरेलले भन्नु भयो, ‘मैले चाहिँ के बुझ्छु भने त्यो संवेदनशील घडीमा आवश्यकता के पर्छ ? कस्तो हुन्छ ? देशभरका कार्यकर्ताको चाहना के हुन्छ ? डिमान्ड के हुन्छ ? त्यो कुरालाई हेक्का राख्नुपर्छ । म मनोगत ढंगले भन्न त भनौला, तर त्यस बेलाको परिस्थिति, कार्यकर्ताको चाहना, आवश्यक्ता छ कि छैन ? त्यो कुरालाई हेक्का राख्नुपर्छ । तर तिमी त्यो क्षमता राख्छौ कि राख्दैनौ भनेर मलाई सोध्ने हो भने मैले फेरी दोेहो¥याउँछु–म इतिहासले, निष्ठाले, निरन्तरताले, क्षमताले कुनै पनि जिम्मेवारीमा डिजर्भ गर्छु ।’

नेकपा एमालेको आगामी महाधिवेशन २०७९ साल बैशाख बैशाख १० गते भित्र सम्पन्न गरिसक्नु पर्नेछ । महासचिव पोखरेलले त्यसैको तयारीका लागि पार्टीले आगामी असोज पहिलो हप्ता विधान महाधिवेशनको आयोजना गरिएको पनि स्पष्ट पार्नु भयो ।